चिनियाँ ईभीमाथि भन्सार शुल्कबारे इयू र चीनबीच वार्ताको तयारी



एजेन्सी । युरोपियन बजारमा आयात हुने चीनमा निर्मित इलेक्ट्रिक भिहिकल (ईभी) माथि भन्सार शुल्क लगाउने योजनाबारे छलफल गर्न चीन र युरोपियन युनियन तयार भएका छन् । चीन र युरोपियन युनियन छलफल गर्न सहमत भएको दुबै पक्षका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।

जर्मनीका अर्थमन्त्री रोबर्ट हेबेकले चीनसँग भन्सार शुल्कमाथि ठोस वार्ता हुने कुरा आफूहरुलाई युरोपियन युनियनका आयुक्त वाल्डिस डोम्ब्रोव्स्कीले जानकारी दिएको बताएका छन् । चीनको वित्त मन्त्रालयले वित्तमन्त्री वाङ वेंटाओ र युरोपियन कमिसनका कार्यकारी उपाध्यक्ष डोंब्रोव्स्की चिनियाँ ईभीमा युरोपियन युनियनको एन्टी सब्सिडीअनुसन्धानमा छलफलका लागि सहमत भएपछि यो वार्ताको तयारी भएको बताइएको छ।

हेबेकका अनुसार चीन र युोपियन युनियनबीच हुने वार्ता नयाँ र आश्चर्यजनक हुनेछ । किनकि पछिल्लो केही सातामा कुनै ठोस छलफल र सहमतिको लागि समयतालिका पनि तय भइरहेको थिएन । यस्तो अन्योल अवस्थाका बीच हुने वार्तालाई हेबेकले आश्चर्यजनक र नयाँ हुने प्रतिक्रिया दिएका छन् ।

यस्तै चिनियाँ मन्त्री वाङले चीनमा निर्मित ईभीमाथि भन्सार शुल्क लगाउने विषयमा छलफल गर्न युरोपियन युनियनको ढोका खुला रहेको प्रतिक्रिया दिएका थिए । बेइजिङमा चिनियाँ अधिकारीहरुसँगको बैठकपछि सांघाइमा पुगेर हेबेकले प्रतिक्रिया दिएका छन्,’मैले आज आफ्ना साझेदारहरुलाई सुझाव दिएँ, छलफलका लागि ढोका खुला छ ।’

गत नोभेम्बरमा चिनियाँ ईभीमाथि भन्सार शुल्क पूर्ण रुपमा लागु हुनुअघि यो मुद्दामा युरोपियन युनियन र चीनबीच पहिलो पटक वार्ता हुन लागेको हो । चीन र इयूबीच विवादको अर्को कारण युक्रेन युद्धमा रुसलाई चीनले दिएको समर्थन पनि एक हो । युरोप बाहेक अमेरिकाले पनि चीनलाई व्यापारका विभिन्न क्षेत्रमा दबाब दिँदै आएको छ । तर गत वर्ष मात्रै रुसमा चिनियाँ व्यापार ४० प्रतिशतले बढेको थियो ।

यसबीचमा चीनसँग ईयूले वार्ताको लागि सहमति दिएको हो । हेबेकले वार्ता महत्त्वपूर्ण रहेको र यो आवश्यक भएको भन्दै वार्ताबाट सहमति सम्भव रहेको प्रतिक्रिया दिएका छन् ।


क्लिकमान्डु