वर्षमा ५ महिना थन्किन्छन् नेपाल एयरलाइन्सका २ न्यारोबडी जहाज, किन हुन्छ ग्राउन्डेड ?



काठमाडौं । नेपाल वायुसेवा निगमका दुई न्यारोबडी जहाज वर्षमा ४ देखि ५ महिनासम्म थन्किने र मुस्किलले ७ महिना मात्रै उडान गर्ने गरेको तथ्य फेला परेको छ । नेपाल वायुसेवा निगमले क्लिकमान्डुलाई उपलब्ध गराएको एक तथ्यांक अनुसार निगमको ९ एन एकेडब्लु कलसाइनेको सगरमाथा र ९ एन एकेएक्स कलसाइनको (लुम्बिनी) नामको जहाज विभिन्न कारणले पटक पटक गरेर वर्षमै ५ महिनाभन्दा लामोसम्म ग्राउन्डेड भएका छन् ।

वायुसेवा निगमको जहाज एकै वर्ष ५ महिनाभन्दा लामो समयसम्म थन्कदा भएको आर्थिक नोक्सानीको भने निगमले कुनै लेखाजोखा नै गरेको छैन । न्यारोबडी जहाज थन्कदा प्रत्येक उडानमै निगमलाई लाखौं घाटा भएको छ । निगमको लागि कमाइ दिने र लाभ दिएर धानिदिने यी जहाज नउ्डदा दैनिक करिब १ करोड ६ लाख रुपैयाँसम्म घाटा भएको छ ।

वायुसेवा निगमको गत मंसिर १५ मा इन्जिन परिवर्तन गर्न इजरायल पठाएको एक न्यारोवडी (लुम्बिनी) जहाज वैशाख १५ गते ५ महिना पूरा गरेकै दिन फर्किएको थियो । निगमको उक्त जहाजले आफ्नो इन्जिनलाई मर्मत गर्न दिएर भाडाको इन्जिन राखेर उडान गरिरहेको थियो । भएको इन्जिन बिग्रिएपछि मर्मतमा छोडेको आफ्नै इन्जिन राख्न गएको जहाज ५ महिनासम्म पर्खिएर भाडाकै इन्जिनमा फर्कियो । अहिले भाडामै लिएको इन्जिनमा उक्त जहाज उडिरहेको छ ।

निगमको इन्जिन इजरायलको इजरायल एरोस्पेस इन्ड्रष्ट्रिज (आईएआई)मा मर्मत गर्न ढिलो हुँदा निगमले बारम्बार दबाब दिँदा पनि गत मंसिरदेखि वैशाखसम्मको ५ महिना उडान ठप्प भयो । जसका कारण निगमलाई प्रत्यक्ष रुपमै ३ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको निगमले जनाएको छ ।

निगमले अहिले पनि एउटा न्यारोबडी उडाउन नसक्दा दैनिक कम्तिमा १ करोड ६ लाखभन्दा बढी घाटा छ । एक महिना जहाज उडेन भने यस्तो घाटा मासिक ६६ करोड रुपैयाँ हुने निगमको दाबी छ ।

निगमको जहाज पटक पटक ग्राउन्डेड हुने र मर्मतमा हुने ढिलाइका कारण उड्नेभन्दा थन्कदा भएको क्षतिले कारण नकारात्मक सन्देश बढी फैलिने गरेको निगमका उच्च अधिकारीको भनाइ छ ।

सगरमाथा १६० दिन र लुम्बिनी ११६ दिन थन्कियो

वायुसेवा निगमका अनुसार अन्तर्राष्ट्रिय उडानका दुई न्यारोबडी गत वर्ष सन् २०२२ र २३ मा ४ देखि ५ महिनासम्म थन्किएका थिए ।

निगमले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि २०२३ को डिसेम्बरसम्मको दुई वर्षमा सगरमाथा नामक न्यारोबडी १६० दिन थन्किएको छ । यो अवधिमा लुम्बिनी नामक जहाज पनि ११६ दिन थन्किएको निगमले उपलब्ध गराएको तथ्यांमा उल्लेख छ । सन् २०२४ मा पनि लुम्बिनी ५ महिना थन्किइसकेको छ भने यो अवधिमा अर्को न्यारोबडी सगरमाथाको ग्राउन्डेड समय भने उपलब्ध भएको छैन ।

यो अवधिमा निगमको वाइडबडी जहाज भने एउटा २ दिन र अर्को ३ दिनमात्रै थन्किएको छ । निगमको वाइडबडी जहाज भने कार्गो डोरमा भएको क्षतिका कारण ३ दिन र नोज ह्विल भाइब्रेसनका कारण २ दिन थन्किएको थियो ।

के कारणले थन्किन्छन् जहाज लामो समय ?

वायुसेवा निगमको जहाज नियमित मर्मत, आकस्मिक मर्मतदेखि विभिन्न समस्याका कारण ग्राउन्डेड हुने गरेका छन् । निगमले द्रुत गतिमा मर्मत गर्न र आवश्यक सामान ल्याउन एयरक्राफ्ट अन ग्राउण्ड (एओजी) गर्ने गरेको छ ।

निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुन छिटो मर्मत गर्नुपरे र जहाजलाई लामो समयसम्म थन्काउन नमिल्ने अवस्थामा एओजी हुने गरेको बताउँछन् । एओजीमा मगाएको जहाजको पाटपुर्जा नियमित प्रक्रियाभन्दा छिटो हुन्छ भने लागत पनि बढी लाग्ने गरेको छ ।

एओजी प्रक्रिया द्रुत गतिको सेवा हो । जहाज बिग्रियो र तत्काल मर्मत गरिहाल्नुपर्ने अवस्थामा एओजी हुन्छ । जहाज निर्माता कम्पनी एयरवसले दिने सुझावका आधारमा परिवर्तन गर्नुपर्ने सामानको लागि पनि एओजी हुने गरेको पुनले जानकारी दिए ।

निगमका अनुसार विमान लामो समय थन्कनुको प्रमुख कारण भने इन्जिन हो ।
इन्जिन मर्मत गर्नुपर्ने, परिवर्तन गर्नुपर्नेसहितको कारणले अन्य समयको भन्दा धेरै दिन जहाज थन्किने गरेको छ ।

निगमको सगरमाथा नामको न्यारोबडी १ जनावरी २०२२ मा इन्जिनिको कारण ६४ दिन ग्राउन्डेड भएको थियो । सोही जहाज सन् २०२२ को अगस्ट १ देखि ५१ दिन इन्जिनकै कारण थन्किएको थियो ।

निगमका अनुसार एयरवसको लुम्बिनी नाम जहाज पनि १७ जुलाइ सन् २०२३ मा ६२ दिन थन्किएको थियो भने त्यसअघि सन् २०२२ को जनावरीदेखि २३ डिसम्बरसम्मा यो जहाज ११६ दिन थन्किएको थियो ।

निगमले जहाज ग्राउन्डेड हुनुको कारणमा इन्जिन नियमिति मर्मत गर्नुपर्दा सोही समय अर्को पनि बिग्रने, भाडाको लिन ढिलो हुने, जहाजमा विभिन्न प्राविधिक समस्या आउने सहित भएको निगमले क्लिकमान्डुलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।

जहाज लामो समय थन्किँदा समेत निगमको न्यारोबडीले २०८० को फागुनसम्ममा १ लाख २५ हजार यात्रु बोकेको छ । त्यस्तै दुई न्यारोबडीले २०७९/८० मा ३ लाख ६१ हजार ६९६ यात्रु बोकेको थिए भने अघिल्लो वर्ष २०७८/७९ मा २ लाख ३९ हजार १४६ यात्रुलाई सेवा दिएका थिए ।

निगमको जहाज धेरै समय थन्कदासमेत आर्थिक वर्ष २०७९/८० मा न्यारोबडीले मात्रै १० अर्ब ९३ करोड रुपैयाँ निगमको लागि कमाइ गरेको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा निगमको न्यारोबडीले ६ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी २०७७/७८ मा भने २ अर्ब ५२ करोड रुपैयाँ मात्रै भएको निगमले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

आन्तरिक उडानको जहाजसमेत वर्षमा ११८ दिन ग्राउन्डेड

निगमको आन्तरिक उडानमा हाल २ वटा ट्वीनअटर मात्रै छन् । यी दुई जहाजमध्ये एउटै जहाज वर्षमै ११८ दिनसम्म ग्राउन्डेड भएको तथ्यांक छ ।

तथ्यांकअनुसार हाल उडानमा रहेको डीएचसी६-३०० नामका ट्वीनअटर जहाज सन् २०२३ मा ११८ दिन ग्राउन्डेड भएको छ। इन्जिनमा भएको समस्या, इन्जिन परिवर्तन गर्नु परेको, अवतरण गर्दा जहाजको नोजह्वीलमा कम्पन आएको, इन्जिनमा लाइट नदेखिएको, पावर लिभर स्यान्गसहितको कारणले यो जहाज पनि पटक पटक गरेर वर्षमा ११८ दिनसम्म ग्राउन्डेड भएको तथ्यांकमा उल्लेख छ ।

यही जहाज सन् २०२२ मा ८७ दिन ग्राउन्डेड भएको निगमको तथ्यांकमा उल्लेख छ ।

सन् २०२३ मा निगमको अर्को एक ट्वीनअटर पनि ३४ दिन ग्राउन्डेड भएको छ । तथ्यांक अनुसार यही जहाज सन् २०२२ मा ६४ दिन ग्राउन्डेड भएको थियो ।


राजु बास्कोटा