विकासको मूल फुटाउन कम्तीमा २ पटक एमालेको सरकार बन्‍नुपर्छ: महिलामन्त्री चौधरी



इटहरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेकपा एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आए जनताका आशा अपेक्षा पूरा हुने दाबी गरेकी छन् । विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटक एमाले सरकारको नेतृत्वमा आउनुपर्ने उनको तर्क थियो ।

नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री चौधरीले नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताएकी हुन् । ‘हामी नेकपा एमाले हौँ । हामी सबैको एउटै आँगन हो । हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनका लागि । विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ’, मन्त्री चौधरीले भनिन् ।

यस्तै नेकपा एमालेको अबको लक्ष्य मिसन २०८४ नै भएको उनले बताइन् । सम्पूर्ण पार्टी पंक्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने भन्दै उनले भनिन्, ‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले हो । पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अबको हाम्रो यात्रा मिसन ०८४ हो । अब हामी सबै मिसन ८४ को लक्ष्यमा केन्द्रित हुनुपर्छ ।’

यस्तै पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उनले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको दाबी गरिन् । यस्तै आगामी निर्वाचनमा एमालेले स्थानीय, प्रदेश र संघमा ५१ प्रतिशत जित्ने गरी अहिलेदेखि नै तयारी गर्नुपर्ने भन्दै उनले कार्यकर्तालाई निर्देशन दिएकी थिइन् ।

यसैगरी एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा अपेक्षा पूरा हुने उनको भनाइ थियो । मन्त्री चौधरीले भनेकी छन्, ‘अब हामी कम्तीमा स्थानीय, प्रदेश र संघमा ५१ प्रतिशत जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ । हाम्रो भोलिको लक्ष्य दुईतिहाइ हो । तर अहिलेदेखि नै हामीले बढीभन्दा बढी जित्नका लागि लाग्नुपर्छ ।’


क्लिकमान्डु