चीनले एक वर्षमा बनायो २ करोड ६० लाख कार, अमेरिका र भारतमा कति बने ?



कुन देशले कति कार उत्पादन गर्छ भन्ने कुराले त्यो देशको अर्थतन्त्रको अवस्था पनि देखाएको हुन्छ । दोस्रो ठूलो अर्थतन्त्र भएको चीन कमर्सियल सवारी तथा कार निर्माण र खपतमा सबैभन्दा अगाडि छ । धेरै कार निर्माण गर्ने अन्य पाँच देशको भन्दा चीन एक्लैले उत्पादन गर्ने कारको संख्या धेरै छ । विश्वभर सबैभन्दा धेरै कार उत्पादन गर्ने १० देशहरुको सूची :

एजेन्सी । गत वर्ष २०२३ मा विश्वको सबैभन्दा ठूलो कार निर्माता देशको रुपमा चीन चिनियो । चीनले करिब ३ करोड सवारी निर्माण गरिसकेको तथ्यांक छ ।

जुन संख्या धेरै सवारी निर्माण गर्ने अन्य पाँच देशले निर्माण गरेको कारको एकमुस्ट संख्याभन्दा पनि धेरै हो । सवारी उत्पादनसँगै बिक्री तथा खपतमा पनि चीन अन्य देशहरुभन्दा अगाडि नै छ ।

यसैगरी विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका धेरै कार तथा कमर्सियल सवारी उत्पादन गर्ने दोस्रो श्रेणीमा आउँछ । जसले लगभग १ करोड ६० लाख जति कार निर्माण गरेको छ । र तीमध्ये अधिकांश कमर्सियल सवारी नै हुन् । गत वर्ष २०२३ को वर्षभरी कुन देशले कति कार तथा कमर्सियल सवारी उत्पादन गरे भन्नेबारे तथ्यांक हेर्दा धेरै सवारी उत्पादन गर्ने तेस्रो देशमा जापान छ ।

यद्यपि २०१९ र २०२० मा भने कोरोना महामारीका कारण यी देशहरुले अपेक्षा गरे अनुरुप कार उत्पादन गर्न सकेनन् । विशेषगरी २०२० मा लकडाउन तथा अन्य सामाजिक दूरी कायम गर्नुपर्ने नियमका बावजुद विश्व अटो मार्केटमा कार उत्पादन १५ प्रतिशतले घटेको थियो । यस्तो गिरावट विश्वभरी नै देखिएको थियो ।

तर युरोप र उत्तर अमेरिकाको अवस्था हेर्ने हो भने कार उत्पादनमा २१ प्रतिशतले गिरावट भएको थियो । २०२१ मा भने कार उत्पादनको संख्यामा वृद्धि आयो र अटो मार्केट केही उकासिएको थियो । जवकि कोरोना महामारीभन्दा पहिलेको तुलनामा न्युन नै थियो ।

अटोमोबाइल निर्माण क्षेत्र विश्वमा सबैभन्दा ठूलो उद्योग हो । र यसको बजारले नै सम्बन्धित देशको अर्थतन्त्रको अवस्था पनि देखाएको हुन्छ । अटो मार्केटले विविध क्षेत्र ओगटेको हुन्छ । जस्तै उत्पादन, बिक्री, मार्केटिङ साथै तेल, स्टिल, प्लास्टिक र रबर जस्ता सप्लाइ च्यानलका अन्य स्रोतलाई पनि अटो बजारले समेटेको हुन्छ । साथै यसले सडक निर्माण तथा विकासको क्षेत्र, फ्युल स्टेसन र ढुवानी प्रक्रियाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यो समग्र सञ्जालले नै अर्थतन्त्रलाई चलायमान बनाएको हुन्छ ।

विश्वमा दोस्रो ठूलो अर्थतन्त्र भएको चीन सप्लाइ र माग दुबै क्षेत्रमा सबैभन्दा ठूलो कार निर्माण उद्योग भएको देश मानिन्छ । २०१९ सम्ममा विश्वभर मोटर भेहिकल उत्पादनको समग्र २९ प्रतिशत चीनले नै ओगटेको थियो । यो तथ्यांक २०२० मा भने कोरोना महामारीका कारण केही गिरावट आएर २५ प्रतिशतमा झरेको थियो ।

पछिल्ला वर्षहरुमा चीनले आफूलाई फेरि अब्बल बनाउँदै आएको छ । २०२२ मा चीनले विश्वभर अटो मार्केटमा कार उत्पादनको ३२ प्रतिशत ओगटेको थियो । २०२३ र २०२४ मा पनि चीनले कार निर्माण र बिक्रीलाई तीब्र बनाउँदै आएको छ ।

गत वर्षमा कुन देशले कति कार उत्पादन गरे ?

१. चीन: २ करोड ६० लाख ८२ हजार २ सय २०

२. अमेरिका : ९१ लाख ६७ हजार २ सय १४

३. जापान ७८ लाख ४६ हजार ९ सय ५५

४. भारत ४३ लाख ९९ हजार १ सय १२

५. कोरिया ३४ लाख ६२ हजार ४ सय ४

६. जर्मनी ३३ लाख ८ हजार ६ सय ९२

७. मेक्सिको ३१ लाख ४५ हजार ६ सय ५३

८. ब्राजिल २२ लाख ४८ हजार २ सय ५३

९. स्पेन २० लाख ९८ हजार १ सय ३३

१०. थाइल्यान्ड १६ लाख ८५ हजार ७ सय ५


क्लिकमान्डु