धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकका दुई नयाँ शाखा



गजुरीको पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग

काठमाडौं । झण्डै २ दशकदेखि ग्राहकमाझ अनवरत रूपमा सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्‍याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९१ औं र १९२ औं शाखा धादिङमा सञ्चालनमा आएका छन् ।

धादिङको गजुरी र धार्केमा यी दुई शाखा सुरु गरिएको हो । यससँगै वागमती प्रदेशमा मात्रै सिटिजन्स बैंकका शाखा कार्यालयको संख्या ५४ पुगेको छ ।

गजुरी र धार्केमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै आफूहरु अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

उक्त शाखाहरुको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । सुविधा सम्पन्न यी शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने बैंकको लक्ष्य छ ।

नयाँ शाखा संचालनको अवसरमा यी शाखाहरुमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निशुल्क प्राप्त गर्न सकिनेछ । साथै डीम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।

यस्तै धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गजुरी वडा नं १,आधामारा धादिङमा अवस्थित पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।

विद्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरेका हुन् । विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि पोखरेलले बताए ।


क्लिकमान्डु