सञ्चालनमा रहेका सबै क्यासिनोले दिए नवीकरण गर्न आवेदन, एक नयाँ क्यासिनोले माग्यो सञ्चालन अनुमति



काठमाडौं । विभिन्न होटलमा सञ्चालित सबै क्यासिनोले नवीकरणका लागि आवेदन दिएका छन् । पर्यटन मन्त्रालयाट अनुमति लिएर सञ्चालनमा रहेका सबै क्यासिनोलाई जेठ मसान्तभित्रै नवीकरण गर्न निर्देशन दिएको थियो ।

पर्यटन मन्त्रालयको निर्देशनसँगै पर्यटन ऐन २०३५ को ‘क्यासिनो सञ्चालन सम्बन्धित व्यवस्था’ अनुसार क्यासिनो सञ्चालनको इजाजतपको मान्य अवधिभन्दा एक महिनाअघि नै तोकिएको दस्तुर तिरेर क्यासिनो नवीकरण गर्न आवेदन दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार हाल सञ्चालनमा रहैका सबै क्यासिनोले असार मसान्तभित्रै नवीकरणको लागि आवेदन दिएको पर्यटन मन्त्रालयका प्रवक्ता कालिबहादुर भुजेलले बताए ।

जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भन्दै पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले १४ जेठमै सूचना जारी गरेको थियो । कारबाहीमा परिने र इजाजतपत्र नै खारेज हुने व्यवस्वस्था भएकोले सबै क्यासिनोले तोकिएको इजाजत नवीकरण दस्तुर तथा रोयल्टी तिरेर नवीरकणको लागि आवेदन दिएको भुजेलले बताए ।

‘क्यासिनोको इजाजतपत्र असार मसान्तमा नवीकरण हुने तथा उक्त नवीकरणका लागि एक महिनाअगाडि जेठ मसान्तसम्म आवेदन दिनुपर्ने व्यवस्था अनुसार सबैले नवीकरणको लागि आवेदन दिएका छन्’ भुजेलले भने ।

विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आव असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन आएको पनि उनले बताए ।

विभागमा एउटा नयाँ क्यासिनोले पनि इजातपत्र मागेको छ । उक्त क्यासिनोको बारेमा कुने निर्णय भने भएको छैन । नेपालमा अहिले ३० वटा जुवाघर (क्यासिनो) कम्पनी छन् । यी कम्पनीले नेपालका ४० वटा होटलमा क्यासिनो चलाइरहेका छन् । सिमराको इच्छाबाहेक सबै पाँचतारे होटलमा क्यासिनो सञ्चालनको पूर्वाधार छ ।

हाल नेपालमा १९ वटा पाँचतारे होटल छन् । यसमध्ये हाल १३ वटा होटलमा मात्रै क्यासिनो चलिरहेको छ । बाँकी होटल बन्द भएकाले क्यासिनो नचलेको पर्यटन विभागले जानकारी दिएको छ ।

पाँचतारेबाहेक काठमाडौंबाहिरका चारतारे र सो सरहका होटलमासमेत क्यासिनो सञ्चालन भइरहेको छ । विदेशी पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले खुलेका यस्ता क्यासिनोको कमाइ आकर्षक हुने गरेको छ । एक पर्यटन व्यवसायीका अनुसार क्यासिनो प्रवेश गर्ने विदेशीले जितेको रकममध्ये ६० प्रतिशत सोही ठाउँमा खर्च हुन्छ । जसका कारण एउटा विदेशी प्रवेश गरे पनि सो क्यासिनोमा गर्ने खर्च उल्लेख्य हुने भनाइ पर्यटन विभागको छ ।

लुम्बिनी ग्रीन होटलमा नयाँ क्यासिनो आउँदै
विभागका एउटा नयाँ क्यासिनोले पनि इजातपत्र मागेको छ । सिद्धार्थ हस्पिटालिटी ग्रुपले चलाएको सिद्धार्थ लुम्बिनी ग्रीन होटलमा नयाँ क्यासिनो आउने भएको छ । यो होटलमा क्यासिनो चलाउन एउटा कम्पनीको आवदेन परेको छ । यसको निवदेनलाई आवश्यक मूल्यांकन गरेर मात्रै अनुमति दिइने भएकोले यसले अनुमति भने पाइसकेको छैन ।

क्यासिनो सञ्चालन आर्थिक ऐन अनुसार क्यासिनो सञ्चालन गर्न वार्षिक ५ करोड र मिनि क्यासिनोले वार्षिक १ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्छ ।

क्यासिनोको नवीकरण शुल्क इजाजतशुल्कको आधा लाग्ने व्यवस्था छ । हाल क्यासनोले १० लाख र मिनि क्यासिनोले ५ लाख तिरेर इजाजतपत्र लिने व्यवस्था छ । यो व्यवस्था अनुसार क्यासिनो नवीकरण गर्दा लाग्ने शुल्क ५ लाख र मिनि क्यासिनोका लागि २ लाख ५० हजार रुपैयाँ लाग्छ ।


क्लिकमान्डु