नगरसभा स्थगित भएपछि बालेनको आक्रोश: भने, कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीन नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत बालेनले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन जनप्रतिनिधिलाई आग्रह गरे ।

काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएपछि मेयर बालेन्द्र शाहले अन्य जनप्रतिनिधिलाई सभामा दलगत धङ्धङी बोकेर नआउन चेतावनी दिएका हुन् ।

आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३२ जेठमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको बैठक बोलाइएको थियो।

यस्तो छ बालेनको भनाइ

३ जना नेताले गर्दा, १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो ।

काठमाण्डौ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।

नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।

काठमाण्डौ महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला ।


क्लिकमान्डु