पाकिस्तानको नयाँ बजेट: १७.६ प्रतिशतले बढ्यो सैन्य खर्च



एजेन्सी । पाकिस्तान सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । जसमा सशस्त्र बलका लागि २१ खर्ब २० अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गर्ने सरकारले प्रस्ताव गरेको छ । जुन रकम गत वर्षको बजेटको तुलनामा १७.६ प्रतिशतले बढी हो ।

नयाँ बजेटमा अनुमानित चालु आर्थिक वर्षको खर्चको १२.३३ प्रतिशत प्रस्तावित गरिएको छ । सशस्त्र बलका लागि पाकिस्तान सरकारले पछिल्लो ६ वर्षको अवधिमा गरेको सबैभन्दा ठूलो खर्च हुने बताइएको छ । पाकिस्तानले सैन्य खर्चका लागि छुट्याएको उक्त रकम ७ अर्ब ६४ करोड ७९ लाख अमेरिकी डलर हो । यसअघि २०१३ देखि १८ को अवधिमा तत्कालीन सरकारले सुरक्षा खर्चमा १८ प्रतिशत बढाएको थियो ।

पाकिस्तान सरकारले बुधबार त्यहाँको सदनमा पेस गरेको बजेटमा उक्त तथ्यांक सार्वजनिक भएको छ । यद्यपि सुरक्षाका लागि विनियोजन गरिएको बजेटले देशको वास्तविक सैन्य खर्चको अपूर्ण चित्र प्रस्तुत गर्ने बताइन्छ । जवकि, सेवानिवृत्त सैनिकहरूका लागि तोकिएको ६६२ अर्ब रुपैयाँ, रक्षा बजेटबाट नभएर सरकारको चालु खर्चबाट दिइने बताइएको छ ।

पाकिस्तानी सञ्चारमाध्यम डन न्युजमा प्रकाशित समाचार अनुसार प्रमुख सैन्य अधिग्रहण, आणविक हतियार र मिसाइल कार्यक्रमका लागि बनाइएको कोष एक वर्गीकृत बजेट लाइन अन्तर्गत लुकेका छुट्टै च्यानलहरु बाट वित्त पोषण गरिएको मानिन्छ । जसकारण सैन्य खर्चको वास्तविक आंकडा अस्पष्ट रहेको बताइन्छ ।

तर पाकिस्तानमातीन सैन्य सेवा तथा अन्तर सेवा संगठनहरुको हिस्सेदारी २०१९ देखि व्यवस्थित बनाइएको छ । जसअनुसार सेनालाई ४७.५ प्रतिशत, वायुसेनालाई २१.३ प्रतिशत, नौसेनालाई १०.८ प्रतिशत र अन्तर-सेवा संगठनहरूलाई २०.३ प्रतिशत विनियोजन गरिएको छ ।

पाकिस्तान सरकारले नयाँ बजेटमार्फत् आम मानिसहरुको नियमित तलबमा ठूलो मात्रामा कर लगाएपछि आलोचना पनि भएको छ । यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दिने ऋणका असंगत सर्तहरु पालना गर्नुपरेको भन्दै उक्त बजेटमाथि प्रश्न उठिरहेको छ । पाकिस्तानले मुद्रा कोषबाट ठूलो ऋण लिनका लागि उसका सर्त र योजना पालना गरेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

अघिल्लो वर्षको आंकडा हेर्ने हो भने अत्यधिक सैन्य खर्च गर्ने २० देशहरुको सूचीमा पाकिस्तान छैन । सबैभन्दा धेरै सैन्य खर्च गर्ने देशको रुपमा अमेरिका र त्यसपछि चीन रहेको छ । पाकिस्तानकै प्रतिस्पर्धी र छिमेकी राष्ट्र भारत भने चौथो नम्बरमा छ ।


क्लिकमान्डु