‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्‍नुपर्छ : सांसद श्रेष्ठ



काठमाडौँ । सांसद तथा पूर्वमन्त्री रन्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि बजेट थप गर्न सुझाव दिएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरुलाई रोजगार उन्मुख शिक्षा, सीपयुक्त र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको बताइन् ।

सांसद श्रेष्ठले मुक्त कमलरी, मुक्त कमैया र हरुवाचरुवाको जीविकोपार्जन, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले बालबालिका तथा ज्येष्ठ नागरिकप्रति समर्पित योजनाको बजेट तथा योजना प्रभावकारी बनाउन र सहरी विकासका कार्यक्रम ग्रामीण क्षेत्रसम्म विकासको आवश्यकता औंल्याएकी थिइन् ।

ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरु सञ्चालन गर्न पनि सांसद श्रेष्ठको सुझाव थियो । साथै नेपाली सेनाअन्तर्गतको जनशक्तिको उपयोग गर्न पनि उनले जोड दिइन् ।


क्लिकमान्डु