कोरियन रामेन चाउचाउ डेनमार्कमा प्रतिबन्ध



एजेन्सी । कोरियाले निर्यात गर्ने स्पाइसी चाउचाउहरु अत्यधिक मसलेदार, पिरो र विषाक्त हुनसक्ने भन्दै डेनमार्कले प्रतिबन्ध लगाएको छ । लोकप्रिय कोरियन इन्स्टान्ट नुडलका केही ब्रान्डहरुलाई डेनमार्कले प्रतिबन्ध लगाएको हो । यी चाउचाउले उपभोक्ताको स्वास्थ्यमा हानीकारक हुने भन्दै डेनमार्कले प्रतिबन्ध लगाएको छ ।

डेनिस भेटेरिनरी तथा फूड एडमिनिस्ट्रेसनले मंगलबार कोरियन कम्पनीले उत्पादन गर्ने चाउचाउमा क्याप्सिकमको मात्रा अत्यधिक भएको जनाएको छ । साथै यसले उपभोक्ताको स्वास्थ्यमा विषाक्तता पैदा गर्नसक्ने डेनिस निकायले जनाएको छ ।

विशेषगरी रामेन चाउचाउका बुलडक थ्री एक्स स्पाइसी एन्ड हट चिकेन, टु एक्स स्पाइसी एन्ड हट चिकेन र हट चिकेन भेराइटीका चाउचाउ अब डेनमार्कमा बिक्री नहुने बताइएको छ । डेनमार्कको खाद्य नियन्त्रक विभागले हालसम्म खरिद गरिएका ती चाउचाउहरु पनि पसलमा फिर्ता गरिदिन उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

उच्च मात्रामा खुर्सानीको प्रयोग गरिनुले बालबालिका र वयष्कहरुको स्वास्थ्यमा विषाक्तता पैदा गर्ने जोखिम रहेको खाद्य नियन्त्रक विभागले जनाएको छ । यस्ता चाउचाउ खानाले जलन र बेचेनी, भोमिटिङ, उच्च रक्तचाप जस्ता समस्या देखिने पनि रसायन विज्ञान तथा खाद्य गुणस्तर विभागका उच्च अधिकारीहरुले बताएका छन् ।

‘यसैले हामी अब स्टोरहरुलाई ती उत्पादनहरु हटाउन माग गर्दछौं,’ खाद्य गुणस्तर विभागले उल्लेख गरेको छ । यस्ता चाउचाउमा क्याप्सिकमको मात्रा चिल्ली चिप्समा भन्दा पनि धेरै रहेको बताइएको छ । जसले गर्दा जर्मनीमा बालबालिकाहरुमा विषाक्तता देखिएको केही केस पनि भेटिएको विभागले जनाएको छ ।

यसैले पनि अभिभावकहरुलाई आफ्ना बालबालिकालाई यस्ता पिरा वस्तु नखु्वाउन विभागका अधिकारीहरुले आग्रह गरेको छ । डेनमार्कमा उत्पादन हुने खानाहरु भने सामान्यतया पिरो हुँदैनन् ।

दक्षिण कोरियाको इन्स्टान्ट नुडलले पछिल्ला वर्षहरुमा वार्षिक रुपमा दोब्बर आम्दानी गरेको छ । जसले २०२४ को पहिलो तीन महिनाको अवधिमा मात्रै २७ करोड अमेरिकी डलर कमाएको छ । रामेनका चाउचाउहरु पछिल्लो समय नेपालमा पनि अत्यधिक खपत हुँदै आएका छन् ।


क्लिकमान्डु