सुमधुर श्रमसम्बन्धसहित यी ३ कारण नेपाल लगानीका लागि उपयुक्त: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औं अन्तर्राष्टिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त धारणा राखेका हुन् ।

जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा अध्यक्ष ढकालले रोजगारदाताको प्रतिनिधत्व गर्दै सम्बोधन गरेका हुन् । नेपालका रोजगारताहरु श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेको र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दीगो राख्न औद्योगिक विस्तार आवश्यक रहेको अध्यक्ष ढकाललको भनाइ थियो ।

सामाजिक सुरक्षा लैंगिक समानता र दिगो आय आर्जनको अवसर बढाउन सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन पनि आग्रह गरे । भारतसँग १० हजार मेगावाट विद्युत खरिद सम्झौता भएको र बंगलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

यसैगरि भारत र चीन जस्ता धेरै जनसंख्या भएका उदीयमान अर्थतन्त्रमा सर्वसाधारणको क्रयशक्ति बढेकाले नेपालका हिलस्टेसनहरुमा पर्यटकीय पुर्वाधार विस्तारको सम्भावना रहेको पनि बताए । सूचना प्रविधि कृषिजन्य उद्योग लगायत उत्पादनमूलक क्षेत्र पनि नेपालको लाभका क्षेत्र रहेको उनले जिकिर गरे । लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउन नीति अंगिकार गर्ने सरकारको योजना रहेको पनि सम्मेलनका सहभागिलाई जानकारी गराए ।

सम्मेलनका क्रममा अध्यक्ष ढकालले अन्तर्राष्टिय श्रम संगठन (आईएलओ) र रोजगारदाताको अन्तर्राष्टिय संगठन (आईओई) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गरे ।


क्लिकमान्डु