वायुसेवा निगमले कमायो सवा १३ अर्ब, न्यारोबडी ५ महिना थन्किँदासमेत ६० हजारले यात्रु बढे



काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो १० महिनामा १३ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । वायुसेवा निगमले जहाज उडाएर गरेको यस्तो आम्दानी चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना (साउन–वैशाख)मा आन्तरिक र बाह्य उडानबाट गरेको हो ।

निगमले पछिल्लो १० महिनामा ५ लाख ३१ हजार ३०१ जना यात्रुलाई उडाएर यस्तो आम्दानी गरेको निगमले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वायुसेवा निगमका अनुसार निगमले आन्तरिक उडानबाट ११ करोड २० लाख रुपैयाँमात्रै आम्दानी गरेको छ भने अन्तर्राष्ट्रिय उडानबाट १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको देखिएको छ ।

निगमले पछिल्लो १० महिनामा आन्तरिक उडानमा जम्मा १६ हजार ८६१ जना यात्रुलाई उडाएको छ । यस्तो यात्रु मासिक १५ सय भन्दा पनि कम देखिएको छ । निगमले अन्तर्राष्ट्रिय उडानबाट भने पछिल्लो १० महिनामा ४ लाख ९३ हजार ८०४ जाना यात्रुलाई सेवा दिएको छ ।

निगमले चालु आर्थिक वर्षको १० महिनामा दिएको यात्रु सेवा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० हजारले बढी छ । निगमको अन्तर्राष्ट्रिय उडानमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको १० महिनामा यात्रुसेवा बढाउन सफल भएको छ । गत वर्ष निगमले जम्मा ४ लाख ७१ हजार यात्रुलाई मात्रै सेवा दिन सकेकाे थियाे भने याे वर्ष भने १२ प्रतिशतले बढाउन सफल भइसकेकाे छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म वायुसेवा निगमले दिएको यात्रु सेवा र आम्दानी विवरण

वायुसेवा निगमका अनुसार इन्जिन मर्मतमा गएको नेपाल वायुसेवा निगमको एक न्यारोबडी जहाज ५ महिना थन्किएर उडान विहिनको अवस्थामा समेत यात्रु उडान भने बढेको छ । निगमको ९ एन एकेएक्स नामको एक न्यारोबडी जहाज १५ मंसिरमा इन्जिन परिवर्तन गर्न इजरायल गएको थियो । उक्त जहाज गत वैशाख १५ मा मात्रै फर्किएको थियो ।

निगमले उक्त जहाजको उडान प्रभावित हुँदा यसले आम्दानी नै ३ अर्ब बढाउनसक्ने अनुमान निगमकै अधिकारीको छ ।

निगमका अनुसार उक्त जहाज उडानविहीन हुँदा यसैका कारण चालु आर्थिक वर्षको ब्यालेन्स सिट नै असर पर्ने देखिएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको जहाज ५ महिना उडान विहिन हुँदा पनि यो वर्ष ६० हजारले यात्रु बढ्नु सकारात्मक हो । यो तथ्यांक अनुसार निगमको यात्रु उडान १२ प्रतिशतले बढेको छ ।

वायुसेवा निगमका अनुसार निगमको उडान क्षमता बढेको, अरु जहाज पूर्ण क्षमतामा उडेको कारण यात्रु बढेको हो । ‘निगमको एउटा जहाजले उडान नगरेको अवस्थामा अरु जहाज पूर्ण क्षमतामा उडेका छन् । जहाज अभावको कारण निगमले गरेको उडान व्यवस्थापन उचित भएकोले पनि यात्रु उडानमा सकारात्मक प्रभाव देखिएको हो’ उनले भने ।


क्लिकमान्डु