दुर्गा प्रसाईको मेडिकल कलेजले पायो सम्बन्धन, यो वर्ष विद्यार्थी भर्ना गर्न पाउने



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईको मेडिकल कलेजलाई काठमाडौं विश्व विद्यालयले सम्बन्धन दिएको छ ।

सोमबार काठमाडौं विश्व विद्यालयले प्रसाईको वि एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतबाट जारी गरेको परामादेश अनुसार विर्तामोड ५, झापामा सञ्चालन रहेको मेडिकल कलेजलाई यहीँ शैक्षिक सत्रदेखी विद्यार्थी भर्ना गर्ने गरी सम्बन्धन दिएको काठमाडौं विश्व विद्यालयले जनाएको छ ।

सर्वोच्च अदालतले चैत १२ काठमाडौं विश्वविद्यालयको नाउँमा भएको परमादेश जारी गर्दै काठमाडौ विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ को नियम ३. ३ ले निर्दिष्ट गरेको प्रक्रिया अन्तर्गत गठित निरिक्षण टोलीले तोकेका कार्यहरू पुरा गर्न लगाई १५ दिन भित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिन भनेको थियो ।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ को नियम ३. ३ ले निर्दिष्ट गरेको प्रक्रिया अन्तर्गत गठित निरिक्षण टोलीले जेठ २५ गते प्रतिवेदन पेश गर्दै वि एन्ड सिले सबै मापदण्ड पुरा गरेको प्रतिवेदन पेश गरेको थियो ।

विश्व विद्यालयले गठन गरेको समितिले दिएको प्रतिवेदनका आधार र सर्वोच्च अदालतको सोही परमादेश अनुसार जेठ २७ मा बसेको कार्यकारी परिषद्को ७१८औं बैठकले बि एन्ड सीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

‘काठमाडौं विश्वविद्यालय सम्बन्धन तथा विस्तारित कार्यक्रम सम्बन्धी नियम, २०७१ को पूर्ण पालनाका साथै चिकित्सा शिक्षाका काठमाडौ विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रमहरूमा चिकित्सा शिक्षा आयोग एवं अन्य नियामक निकायहरूसँग आवश्यक स्वीकृति लिई विद्यार्थी भर्ना गर्न पाउने बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सो सम्बन्धन दिइएको छ,’ काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले जारी गरेको पत्रमा भनिएको छ ।


क्लिकमान्डु