भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट, के भयो कुराकानी ?



काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । त्यसैगरी उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी मोदीबीच भेटवार्ता भएको थियो ।

सो भेटमा प्रधानमन्त्रीले लगातार तेश्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा प्रधानन्त्री मोदीलाई बधाइ दिँदै उनको आगामी कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास व्यक्त गरे ।

आइतबार साँझ नै राष्ट्रपति मुर्मुले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्ड आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ।


क्लिकमान्डु