काठ निर्यात गर्दा लाग्ने भन्सार महसुल १५० प्रतिशतले घट्यो, मूल्य के होला ?



काठमाडौं । सरकारले काठ निर्यातमा लाग्ने भन्सार महसुल १५० प्रतिशतले घटाएको छ । अर्थमन्त्री वर्षमान पुनले हाल २०० प्रतिशत रहेको काठको निकासी महसुल दरलाई घटाएर ५० प्रतिशत बनाएका हुन् ।

बाल्ने दाउरा, मुढा, चिरेको मोटो टुक्रा र हाँगाबिँगा वा दाउरा बाँधेको बिटो काठ चिरेको धुलो, काठको अवशेष र रद्दी वस्तु नेपालबाट निर्यात गर्दा २०० प्रतिशत भन्सार महसुल लाग्ने गरेको थियो ।

अब यी बस्तुहरु नेपालबाट निर्यात हुँदा ५० प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ ।

बोक्रा वा काठको बाहिरी नरम भाग ताछेको काठ निर्यात गर्दा यसअघि २०० प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा अब ५० प्रतिशत महसुल लाग्नेछ ।

काठको चिरेको पोल, तिखारेको तर लम्बाइमा नचिरेको काठको घोचा, साधारण रुपले काँटछाँट गरेको काठको छडी निर्यात गर्दा समेत अब ५० प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ । रेल वा ट्रामको काठका पटरीहरु निर्यात गर्दा समेत ५० प्रतिशत मात्रै भन्सार महसुल लाग्ने भएको छ । यसअघी यस्ता सामानको निर्यात भन्सार महसुल २०० प्रतिशत थियो ।

लम्बाइमा चिरेको वा काटेको ताछेको वा बोक्रा हटाएको रन्डा लगाएको वा नलगाएको ६ एमएम भन्दा बढी मोटाइको काठ निर्यात गर्दा यसअघी २०० प्रतिशत भन्सार महसुल तिर्नु पर्दथ्यो ।

अब यी सबै सामान ५० प्रतिशत निर्यात महसुल तिर्दै निकासी गर्न पाइनेछ ।

नेपालमा काठको आयात बढीरहेको अवस्थामा निकासी दस्तुर घटाउने निर्णयले काठको मूल्य बढ्न सक्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘नेपालबाट कच्चा काठभन्दा पनि तयारी काठ निर्यात गर्ने नीति लिनु उपयुक्त हुन्छ,’ भन्सार विभागका एक अधिकारीले भने, ‘काठको निर्यात भन्सार महसुल घटाउँदा नेपालबाट काठको निर्यात बढ्ने सम्भावना पनि छ । यो नीतिको प्रभाव कस्तो हुन्छ भन्ने आगामी दिनमा थाहा होला । ’


क्लिकमान्डु