बालेन लक्षित ओलीको टिप्पणी: ‘भैंसीको ढाडमा बसेर चार लात हाने भनेर झिँगा दंग पर्छ’



चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले गिरीबन्धु टी–इस्टेटबारे गरेको टिप्पणीको जवाफ दिएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले बालेनको नाम नलिइ ‘झिँगाले भैँसीको ढाडमा लात्ती हानेँ भनेर मख्ख पर्ने’ भन्दै व्यंगात्मक टिप्पणी गरे ।

उनले आफू अनावश्यक ढंगमा विवादमा पर्न नचाहेको भन्दै राजनीतिलाई परिपक्व जिम्मेवार र सभ्य रुपमा लैजानु पर्ने बताए ।

‘भैँसीको ढाडमा झिंगा बस्यो कि के बस्यो त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, चार लात हानेँ यसपटक भनेर,’ ओलीले भने, ‘म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नँ । राष्ट्रिय राजनीतिलाई एउटा परिपक्व जिम्मेवार सभ्य राजनीतिमा लानुपर्छ । असम्भ्य राजनीति होइन ।’

गिरीबन्धु प्रकरणलाई ओझेलमा पार्न महानगरले न्युरोडमा विस्तार गर्न खोजेको फुटपाथलाई सडक विभागले पिच गरेपछि बालेन ओलीविरुद्ध खनिएका थिए । गिरीबन्धु टी इस्टेटको जग्गा प्रकरणको भ्रष्टाचारको विषयलाई मोड्न यस्तो हर्कत ओलीले गर्न लगाएको बालेनको जवाफ थियो ।


क्लिकमान्डु