भारतका राजदूत फिर्ता बोलाएर प्रधानमन्त्री दिल्ली जाँदै

मन्त्रिपरिषद्का अन्य निर्णयहरु के के छन् ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने बेलामा दिल्लीस्थित नेपाली राजदुत फिर्ता बोलाएर सरकारले कूटनीतिक अपरिपक्वता देखाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णयसँगै भारतलगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय पनि गरेको हो ।

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ कात्तिक ११ गते भारतमा डा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसैगरि, साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा डा रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् ।

कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकाल र पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ ।

तर,चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन ।

निर्णय:

१। प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने।

२। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।

३। हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।

४। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।

५। मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।

६। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने।

७। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा ९१० बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगहरूको रूपमा तोक्ने।

८। जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने।

९। ज्येष्ठ नागरिक सम्बन्धी ९पहिलो संशोधन० नियमावली, २०८१ स्वीकृत गर्ने।

१०। भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इसराइलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने।


क्लिकमान्डु