बालेनसँग ओली भिड्न मिल्दैन, न्युरोडमा सडकपेटी विस्तार ठीक: कांग्रेस महामन्त्री



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग एमाले अध्यक्ष केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव दिएका छन् ।

न्युरोडमा सडकपेटी बढाउन जरुरी रहेको धारणा राख्दै शर्माले मेयरले ठिक काम गरेको बताए । मेयर शाहलाई काम गर्न दिनुपर्ने उनको भनाइ छ ।

‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा भएका पार्टीका प्रतिनिधिलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगयो नि मेयर साप संयमले बोल्नुस् । जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् । यो तपाईंको शैली बदल्नुस् भनेर, तर आफैँ सुरिनु भयो बोल्न,’ शर्माले बिहीबारको प्रतिनिधि सभा बैठकमा भने, ‘ यो प्रकरणमा म केवल यतिमात्रै भन्न चाहान्छु, संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्युरोडमा नागरिकका सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो । बालेनले जे गरेका थिए ठिक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनु पर्छ । संघले यसमा कुनैपनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ म यो आग्रह गर्न चाहन्छु ।’

त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष सावित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्रमन्त्री र खेलकुदमन्त्रीसँग जवाफ माग गरे । उनले अदालतले गरेको फैसला सुसूचित गराएर भिसाको लागि वातावरण बनाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको आरोप लगाए ।

उनले सहकारी छानविन विशेष संसदीय समितिले स्वविवेक र तथ्यमा आधारित भएर छानविन गर्ने विश्वास पनि व्यक्त गरे ।


क्लिकमान्डु