गृहमन्त्री रविलाई कांग्रेसको प्रश्न: गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छ ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गिरीबन्धु टि इस्टेट प्रकरणको फाइल खोल्न गृहमन्त्रीले नसक्ने टिप्पणी गरेका छन् ।

गिरीबन्धुको जग्गा प्रकरणबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि आरोप लाएको भन्दै शर्माले त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न गृहमन्त्रीलाई चुनौती दिए ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शर्माले गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्न त के बोल्न पनि नसकेको बताए ।

‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ?,’ शर्माले भने, ‘उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।’


क्लिकमान्डु