लालीगुराँस सहकारीका सीईओ भण्डारी नै बचतकर्ताको पैसा चोरीमा संलग्न, ११ जनाविरुद्ध पक्राउ पुर्जी



काठमाडौं । बचतकर्ताको पैसा चोरीको आरोपमा श्री लालीगुरास बहुउद्देश्यीय सहकारीका सचिव तथा कार्यकारी अधिकृृत सुरेन्द्र भण्डारीसहित ११ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएका ११ जनामध्ये १ जना पक्राउ परेका छन् भने १० जना फरार छन् ।

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीको चुच्चेपाटी शाखाको सदस्य दावा डोमा शेर्पाको १ करोड ६९ लाख रुपैयाँ चोरी भएको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । शेर्पाका अनुसार सहकारीमा मार्केटिङ गर्ने धुर्ब खरेलले रकम किर्ते गरेर चोरी गरेका हुन् । शेर्पाका अुनसार खरेलले आफू सहकारीको मेनेजर भएको र आकर्षक ब्याज दिन्छु भनी पैसा चोरी गरेको आरोप लगाएका छन् ।

‘मुद्दती शिर्षकमा २०७५ भदौ ०५ गते १२०२९८२-९ नं. को खाता खोली सोही मितिदेखी फिक्स डिपोजिट रकम बचत गरी निर्धारित अवधी नाघेपछि निक्षेपको सम्पूर्ण साँवा–ब्याजसहितको रकम फिर्ता पाउने विश्वासका साथ खरेले भने अनुसार माछापुच्छे्र बैंकको चेक मार्फत मिति २०१८/८/२२ गते चेक नं. १८०१८९५४ बाट ५ लाख, सन् २०१८/९/५ गते चेक नं. ९८०८९५८ बाट ६० लाख, सन् २०१८/११/३० गते चेक नं. १८०२१५२५ बाट ५ लाख, सन २०१९/०७/२४ गते चेक नं. १८०१८९७४ बाट ३ लाख, सन २०१९/०७/२५ गते चेक नं. १८०१८९७६ बाट ४७ लाख, सन् २०२१/१०/३ गते चेक नं. २८४१६३२१ बाट ९ लाख र निज धुर्व खरेललाई नगद ४० लाख गरी जम्मा १ करोड ६९ लाख रकम माछापुच्छे्र बैंकमा चेक मार्फत जम्मा गरेको हो’ उनले भनिन् ‘मलाई विश्वास दिलाई चेकमा मलाइ दस्तखत गर्न लगाई खरेलले चेकमा आफैंले अंक अक्षर लेखी रकम आफैं जम्मा गरी दिन्छु भनी चेक लिई गएकोमा पछि मैले निक्षेप तथा संचित गरेको रकम निकाल्ने अवधी २०८० साउन २६ गते रकम फिर्ता लिन ध्रुव खरेललाई सो कुरा बताएकोमा निजले मलाइ ढाटी झुक्याइ रकम नदिएको र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा गई मेरो नामको १२-०२९८२-९ नं. को खाताको बैंक स्टेटमेन्ट बारे बुझ्दा उक्त खातामा ३१० रुपैयाँ संचित रहेको बैंक स्टेटमेन्टबाट देखियो ।’

खरेलले आफ्नो नाममा चेक जारी गरी किर्ते सही गरी आफ्नो खाताबाट रकम निकालेको र आफ्नो नामका सहकारीमा रहेको खातामा रकम जम्मा गरी दिन्छु भनी माच्छापुच्छ्रे बैंकमा रहेको खाताको चेकमा अक्षर अंकसमेत लेखी आफूलाई दस्तखत गर्न लगाई उक्त रकम खरेलले लिएको शेर्पाको दावी छ ।

सहकारीको खातामा आफ्नो नामबाट खाता खरेलले नै खोली खाताको चेक बनाई उक्त चेकमा दस्तखत गरी खरेल आफैंले रकम निकालेको शेर्पाको दावी छ ।

यता खरेल भने आफूले पैसा नलिएको दावी गर्छन् । ‘केही रकम मेरो नाममा चेक मार्फत भुक्तानी लिन निजको बैंकको चेक मेरो नाममा काटेकोमा मैले सो चेक सहकारीको साधारण सेयर र साधारण बचत खातामा जम्मा गरी दिएको हो’ खरेलले भने ‘लालीगुराँस सहकारीमा भएको सम्पूर्ण हरहिसाब सुरेन्द्र भण्डारीले गर्ने गरेका थिए ।’

उक्त सहकारीको चाबहिल शाखाको तत्कालिन कार्यालय प्रमुख श्रृजना तुलाधर थिइन् । सहकारीका बचतकर्ता शेर्पाको उक्त रकम चोरीको अभियोजमा सहकारीमा मार्केटिङ गर्ने सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका-२ का धुव्र खरेल रहेका छन्। खरेल पक्राउ परिसकेका छन् ।

अहिले फरारको सूचीमा रहेका १० जनामा सहकारीको सचिव तथा सीईओ ललितपुर जिल्ला भैंसेपाटीमा बस्ने सुरेन्द्र भण्डारी, काठमाडौं महाराजगंजका अमर दास श्रेष्ठ, सहकारीको उपाध्यक्ष ललितपुर धोबिघाटकी हजुरी बिष्ट, सहकारीको कोषाध्यक्ष काठमाडौं महानगरपालिका लाजिम्पाटका अमृत कुमार अर्याल, संस्थाका सदस्य ललितपुर ताल्छिखेल बस्ने कमद बाबा जोशी, सदस्य भोला कुमार श्रेष्ठ फरार रहेका छन् ।

बचतकर्ताको पैसा चोरी अभियोगमा पक्राउ पुर्जी जारी भएर फरार रहनेमा ललितपुर कुसुन्ती बस्ने सहकारीको सदस्य आर्या सिंह भण्डारी, सहकारीको लेखा समिति संयोजक पुण्य प्रसाद पोखरेल, सहकारीको सदस्य विध्यादेवी पाण्डे र सहकारीको सदस्य तिमिला रंजित फरार रहेका छन् ।

उक्त सहकारीलाई फागुन २९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको छ । सहकारीले ३ अर्ब १० करोड रुपैयाँ ठगेको भन्दै उजुरी परेको छ। भण्डारी नेपाली कांग्रेस सहकारी विभागका सचिव तत्कालिन सचिव हुन् ।


क्लिकमान्डु