एनआईसी एशिया बैंकबाट कर्जा लिएका ग्राहकलाई ३५ प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंंकले कर्जा लिने ग्राहकलाई १५ देखि ३५ प्रतिशतसम्म छुट दिने भएको छ ।

आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउन यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

२०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट दिने जनाएको छ ।

९१ दिनदेखी १८० दिनसम्म भाखा नाघेको समयका लागि १५ प्रतिशत, १८१ देखि ३६५ दिनसम्मका लागि २५ र ३६५ दिन भन्दा बढी अवधिका लागि ३५ प्रतिशतसम्म ब्याज छुट दिने जनाएको छ ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भएर लाभ लिन सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु