१० प्रतिशत अग्रिम आयकर लगाएपछि भन्सारमा थन्किए ३०० वटा दाल बोकेका कन्टेनर
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत कच्चा दाल आयातमा लगाएको १० प्रतिशत अग्रिम आयकरका कारण देशको मुख्य भन्सार कार्यालयमा करिब ३ सयको हाराहारीमा अप्रशोधित दाल बोकेका कन्टेनर थन्किएको छ । सरकारले प्रतिट्रक १५ सय रुपैयाँ ढुवानी शुल्क असुल गर्ने घोषणा गरेको छ ।
सरकारले बजेटमार्फत उक्त आयकर भन्सार विन्दुमै बुझाउनुपर्ने नियम लगाएको छ । यो नीतिपछि अप्रशोधित दालसहितको कन्टेनर भन्सार कार्यालयहरुमा थन्किएको हो । नेपाल चामल तेल दाल उत्पादक संघका पूर्वअध्यक्ष डा.सुवोध गुप्ताका अनुसार सरकारको पछिल्लो नीतिका कारण दालसहितको कन्टेनर पछिल्लो एक सातादेखि डिटेन्सन र ड्यामरेज शुल्क तिरेर भन्सारमा थन्किएका हुन् ।
उनका अनुसार सरकारले अग्रिम आयकर व्यवस्थालाई संशोधन गर्ने अपेक्षामा स्वदेशी दाल उद्योगीहरुले उक्त कन्टेनर भन्सारमा थन्काएका हुन् । विराटनगरमा करिब २५०, वीरगञ्जमा ७० वटासहित भैरहवा, काँकडभिट्टा र नेपालगञ्जमा पनि ठूलो संख्यामा अप्रशोधित दालसहितको कन्टेनर थन्किएका हुन् ।
यहि विषयमा नेपाल चामल तेल दाल उत्पादक संघले काठमाडौंमा बुधबार पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ ।