५ अर्बको प्रिफरेन्सियल सेयर जारी गर्न एनआईसी एशियाले माग्यो राष्ट्र बैंकसँग अनुमति



काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकसँग ५ अर्ब रुपैयाँबराबरको प्रिफरेन्सियल (अग्राधिकार) सेयर जारी गर्ने अनुमति मागेको छ । बैंकले पर्पेचुअल प्रकृतिको नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयर निष्काशन गर्ने अनुमति मागेको हो ।

एनआईसी यस्तो प्रकृतिको सेयर जारी गर्ने अनुमति माग्ने दोस्रो बैंक हो । बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षालगत्तै अग्राधिकार सेयर जारी गर्ने अनुमति माागेको हो । यसअघि नबिल बैंकले पनि ५ अर्बकै अग्राधिकार सेयर जारी गर्ने अनुमति मागेको थियो ।

एनआईसी एशियाले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव राष्ट्र बैंककहाँ गरेको छ । जुन नबिलको ८ प्रतिशतभन्दा ०.५ प्रतिशत बढी हो ।

एनआईसी एशिया चरम पुँजीकोष दबाबमा परेको बैंकको हो । बैंकको प्राथमिक पुँजी अनुपात ८.२५ प्रतिशतमात्र छ । जसकारण बैंकले थप कर्जा विस्तार गर्न सकेको छैन । बफरसहित प्राथमिक पुँजी नपुगेकै कारण बैंकले अघिल्लो आर्थिक वर्ष लाभांश वितरण गर्न पाएको थिएन । सोही करण बैंकले आगामी वर्ष पनि लाभांश दिन नसक्ने पक्का भइसकेको छ ।

यस्तो परिस्थितिमा बैंक प्रिफरेन्सियल सेयर जारी गरेर पुँजी जुटाउने मनसायमा छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको बुँदा नं. ३८ मा ‘बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ’ भनिएको छ । सोहीअनुसार एनआईसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति मागेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले पुष्टि गरे ।

‘नबिल बैंकले मौद्रिक नीति समीक्षाअघि नै अग्राधिकार सेयर जारी गर्ने अनुमति मागेको थियो,’ पौडेलले क्लिकमान्डुसँग भने, ‘गत साता एनआईसी एशिया बैंकले पनि अतिरिक्त टियर १ पुँजी जुटाउने अग्राधिकार जारी गर्ने अनुमति माग गरेको छ ।’ उनले अग्राधिकार सेयर जारी गर्न दिने विषयमा राष्ट्र बैंक पोजिटिभ रहेको पनि बताए ।

नबिल बैंकले गत चैतमै प्रिफरेन्सियल जारी गर्ने अनुमति मागेको थियो ।

प्रतिफल प्राप्त गर्ने अर्थमा साधारण सेयरभन्दा प्राथमिकतामा पर्ने सेयर प्रिफरेन्सियल सेयर हो । यस्तो सेयर जारी गर्ने बैंक वित्तीय संस्थाले जारी गर्नेबेला प्रतिबद्धता गरेको दरको प्रतिफल सुरुमा दिने र बाँकी रकमबाट साधारण सेयरधनीलाई दिनुपर्छ ।

यो रिडिमेबल (विस्तारै साधारण सेयरमा परिणत हुँदै जाने) वा पर्पेचुअल (परिणत नहुने) र क्युमुलेटिभ (नाफा नभएको वर्षको लाभांश अर्को वर्ष पाउने गरी खप्टिने) वा नन्–क्युमुलेटिभ (नाफा भएको वर्षमात्र प्रतिफल पाउने) प्रकृतिको हुन्छ । यीमध्ये पर्पेचुअल नन्–क्युमुलेटिभ प्रिफरेन्सियल सेयरमात्र अतिरिक्त पुँजी जुटाउने उपकरण हो ।

तर, यस्ता सेयरधनीसँग साधारणसभामा सहभागिता र मतदानको अधिकार रहँदैन । यसैगरी प्रिफरेन्सियल सेयर दोस्रो बजारमा किनबेच गर्न मिल्ने नमिल्ने भन्ने स्पष्ट व्यवस्था छैन ।


क्लिकमान्डु