बजेटमा सुझाव दिएकै कारण एमाले र माओवादीबीच खटपट भएको छैन: एमाले प्रमुख सचेतक



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारुढ दलहरुबीच खटपट सुरु भयो भन्नेकुरा गलत भएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बर्तौलाले बजेटमा सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्नेकुरामा सत्यता नरहेको बताए । उनले बजेटमा सत्ता पक्षका सांसदहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए ।

बजेटप्रति एमालेको आक्रोस, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरु मात्रै रहेको उनको भनाइ छ।

बर्तौलाले यसो भने

यो छलफललाई सत्ता पक्षका मान्यज्युहरुले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त ठान्नेकुरालाई अस्वभाविक मान्नु भएन । हामीले यो बजेटमा अलिकति छलफल भएको भए हुन्थ्यो भन्ने अपेक्षा हो । तथापि यो बजेट जुन आएको छ, यो बजेटप्रति हाम्रो आक्रोश छैन, नकारात्मक टिप्पणी छैन, असन्तुष्टि, आलोचना छैन । यो बजेटप्रति हाम्रो केही सुझावहरु छ ।

छलफल गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने हो । राजनीतिक रुपमा हामी यसलाई मतदान गर्नेछौँ, सैद्धान्तिक रुमपा समर्थन गर्नेछौँ, व्यवहारिक रुपमा यो बजेट बोकेर हिँड्छौँ । त्यसैले छलफलको प्रक्रियामा हामी मान्यज्युलाई आफ्ना कुरा राख्ने कुरामा बिर्को लगाउनुस् भन्दैनौँ । खुला ढंगले गर्नुस् । यही सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारुढ दलहरुको बीचमा विशेष एमाले र माओवादीकै बीचमा खटपट सुरु भएको भन्ने होइन । मजबुत ढंगबाट यो सरकार अघि बढ्छ।


क्लिकमान्डु