जुम्लाका किसानलाई भेडा वितरण



जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्थानीय किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छि विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख रुपैयाँ, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रुपैयाँको लागतमा भेडा खरिद गरिएको थियो ।

गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर किसानलाई वितरण गरिएको हो । उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो ।

कनकासुन्दरी क्षेत्र भेडापालनका लागि जिल्लाका अन्य स्थानीय तहभन्दा उपयुक्त ठाउँ मानिन्छ । पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरिएको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा हाल ८४ हजार तीन सय ८८ भेडा रहेका छन् । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय ६ रहेको कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ ।

कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा जुम्लाका स्थानीय किसान भेडापालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको बताइन्छ ।


क्लिकमान्डु