करका दर बढेको भन्दै बालुवाटार पुगेका व्यवसायीलाई प्रधानमन्त्रीले भने: के गर्न सकिन्छ भोलिसम्म गर्छु

'व्यवसायीमाथि अन्याय भएको हो भने फिर्ता लिन अर्थमन्त्रीलाई निर्देशन'



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीहरुसँग करको दरमा भएको हेरफेरबारे आवश्यक संशोधन गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको बताएका छन् ।

सोमबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका व्यवसायीहरुलाई उनले करको दर हेरफेर गरेको विषयबारे आफू जानकार रहेको र अर्थमन्त्री वर्षमान पुनलाई व्यवसायीमाथि अन्याय भएको हो भने फिर्ता लिन निर्देशन दिएको जानकारी गराएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीबाट करको दरमा भएको हेरफेरबारे ब्रिफिङ लिइसक्नु भएको छ र आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिनु भएको छ,’ प्रधानमन्त्री भेट्न पुगेका नेपाल उद्योग परिसंघका कोशी प्रदेश अध्यक्ष पवन शारडाले क्लिकमान्डुसँग भने, ‘प्रधानमन्त्री हाम्रो मागको विषयमा सकारात्मक हुनुहुन्छ । भन्नुभएको छ कि तपाईंहरुको विषयमा सल्लाह गर्दैछु ।’

प्रधानमन्त्रीले प्रस्तावित करका व्यवस्थामाथि संशोधन प्रस्ताव गर्ने भोलि अन्तिम दिन भएको भन्दै के गर्न सकिन्छ त्यो प्रयास गर्ने प्रतिबद्धता गरेका छन् ।

व्यवसायीहरुले खाद्यान्नमा भन्सार बिन्दूमै १० प्रतिशत अग्रिम आयकर अुसल्ने, स्पन्ज आइरनमा २.५ प्रतिशत भन्सार महसुल लगाउनेजस्ता व्यवस्था न्यायोचित नभएको गुनासो गरेका थिए ।

शारडाले भने, ‘भन्सारमै अग्रिम आयकर दिनु न्याय भएन । सामान बिक्री नै नगरी १० प्रतिशत आयकर तिर्नु भनेको सरकारले घुमाउरो रुपमा तिमीहरुले ४० प्रतिशत नाफा गर्छौं भन्न खोजेको देखिन्छ, यसले हाम्रो मनोबल खस्काएको छ ।’ यस्तै स्पन्ज आइरनमा भन्सार महसुल १ बाट २.५ प्रतिशत बनाउँदा अर्बौं रुपैयाँको मेल्टिङ उद्योग लगाएका व्यवसायीको लगानी जोखिममा परेको गुनासो व्यवसायीले गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा शारडासहित नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, राजेश अग्रवाल, विष्णु न्यौपानेलगायत व्यवसायी सहभागी थिए ।


क्लिकमान्डु