यार्सा सङ्कलन गर्न गएका तीनजनाको मृत्यु



मुगु । यार्सागुम्बा टिप्न गएका तीनजनाको मृत्यु भएको छ ।

मुगुमा दुईजनाको लेक लागेर मृत्यु भएको छ । यस्तै दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ ।

मुगुको पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएको बताए । सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको बताए।

मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।

यसैगरी दार्चुलाको अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार बेलुका कार्कीको मृत्यु भएको उनले बताए ।


क्लिकमान्डु