विश्‍वका प्रभावशाली १०० कम्पनी: बिवाईडीदेखि कोरोना खोप बनाउने भारतीय कम्पनीसम्म



विश्वभरका अतिप्रभावशाली १०० कम्पनीहरुको सूचीमा भारतीय तीनवटा कम्पनी । भारतीय कम्पनी सिरम इन्स्टिच्युटलाई टाइम म्यागजिनले विश्वकै सबैभन्दा धेरै खोप बनाउने कम्पनीको रुपमा महत्वसाथ पायोनियर क्याटगेरीमा सूचीकृत गरेको हो । जसले वर्षमा ३ अर्ब ५० करोड खोप बनाउने गर्छ ।

एजेन्सी । विश्वप्रसिद्ध अमेरिकी टाइम म्यागजिनले यस वर्ष २०२४ को अवधिका लागि विश्वभरका १०० वटा अति प्रभावशाली कम्पनीहरुको नाम सार्वजनिक गरेको छ ।

२०२४ को टाइम १०० सबैभन्दा प्रभावशाली कम्पनीहरुको अंकमा दुई ग्लोबल कभर समेटिएको छ । कभरमा रेयर ब्युटीकी संस्थापक सेलेना गोमेज र एन्थ्रोपिकका सहसंस्थापक तथा सीईओ डारियो अमोदेइको तस्बिर समेटिएको छ ।

टाइमको १०० कम्पनीको सूचीमा पर्नेमा अमेरिकी सेलिब्रेटी सेलेना गोमेजको ब्युटी बिजनेसदेखि भारतीय कम्पनी टाटासम्म परेका छन् ।

यससँगै ल्याटिन अमेरकी फुड डेलिभरी कम्पनी राप्पीलाई पनि टाइम म्यागजिनले महत्वका साथ सूचीमा राखेको छ । यस्तै जापानी कम्पनी टोयोटा, बीएमडब्लु,रेडिट, युनाइटेड एयरलाइन्स, निप्पोन स्टिल, ब्लन्डस्टोन, वाटरसेड, जाओमी, लुडो स्टुडियो, पीडीडी होल्डिङ्स, गुगल, सेलड्रोन,हुआवे, अमेजोन, साउदी आरामको, बीवाइडी, टिकटक, माइक्रोसफ्ट, डिस्ने, रिलायन्स, फाइजर, सेरम इन्स्टिच्युट, फुड फर एजुकेसन लगायतका कम्पनीलाई टाइमले सूचीकृत गरेको छ ।

चिनियाँ विद्युतीय सवारी उत्पादन गर्ने कम्पनी बिवाईडी टाइटान्स क्याटागोरीमा परेको हो । त्यस्तै अर्जेन्टाइन फुटबलर लियोनल मेस्सीलाई भित्र्याएपछि अमेरिकी क्लब इन्टर मियामी पनि सूचीमा परेको छ ।

तीनवटा भारतीय कम्पनी

टाइम म्यागजिनले सार्वजनिक गरेको प्रभावशाली १०० कम्पनीको सूचीमा भारतका विभिन्न तीन वटा कम्पनीहरु परेका छन् । तिमध्ये मुकेश अम्बानीले नेतृत्व गरेको रिलायन्स, टाटा ग्रुप र अदार पुनावालाको सिरम इन्स्टिच्युट अफ इन्डिया प्रभावशाली १ सय कम्पनीमा परेका छन् ।

भारतीय कम्पनीबारे के लेख्यो म्यागजिनले ?

टाइमले पाँच क्याटगेरीमा कम्पनीहरुलाई छुट्याएर सूचीकृत गरेको छ । लिडर्स, डिस्रप्टर्स, इनोभेटर्स, टाइटान्स र पायनियर्स गरी पाँच क्याटगेरीमा ती १ सय कम्पनीलाई सूचीकृत गरिएको हो । जस अन्तर्गत हरेक क्याटगेरीमा २० वटा कम्पनी छन् । भारतीय कम्पनी रिलायन्स र टाटा ग्रुपलाई टाइटान्स क्याटगेरीमा राखिएको छ । यस्तै सिरम इन्स्टिच्युट अफ इन्डियालाई पायनियर्स क्याटगेरीमा छानिएको छ ।

२०२१ को सूचीमा भने अम्बानीकै जियो यो सूचीमा परेको थियो । अम्बानीलाई अहिले दोस्रोपटक टाइमले प्रभावशाली कम्पनीको सूचीमा स्थान दिएको हो । यसपटक म्यागजिनले रिलायन्सको बारेमा लेखेको छ, ‘टेक्सटायल र पोलिएस्टरकम्पनीको रुपमा सुरु भएको रिलायन्स आज एक विशाल बिजनेस ग्रुप बनेको छ । २०० अर्ब डलरभन्दा धेरैको बजारसहित यो देशको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।’

कम्पनीसँग ऊर्जा, रिटेल र केलिकमसहित कैयौं व्यवसाय छन्। टाइम म्यागजिनले भारतमा तीब्र रुपमा बढ्दो बजारमा रिलायन्सको राम्रो प्रभाव रहेको पनि म्यागजिनले लेखेको छ । यस्तै आर्थिक वर्ष २०२३/२४ मा रिलायन्सले १० लाख करोड रुपैयाँको आम्दानी गर्दै रेकर्ड राखेको छ ।

यस्तै टाटा ग्रुपलाई पनि म्यागजिनले सूचीमा राखेको छ । यसबारे टाइम म्यागजिनले लेखेको छ,’टाटा ग्रुप भारतको पुरानो कम्पनीमध्ये एक हो । यसको विशाल बजार विशाल रुपमा फैलिएको छ । स्टिल, सफ्टवेयर, घडीहरु र केमिकलदेखि नुन, खाद्यान्न साथै एसीसम्म छ ।’ टाटा २०२३ मा आईफोन एसेम्बल गर्ने पहिलो भारती कम्पनी पनि हो । २०२४ को फेब्रुअरीमा टाटाको संयुक्त पुँजी ३६५ अर्ब डलरसम्म पुगेको छ ।

यस्तै टाइम म्यागजिनको १ सय प्रभावशाली कम्पनीको सूचीमा पर्ने अर्को भारतीय कम्पनी हो सिरम इन्स्टिच्युट । जसले हरेक वर्ष ३ अर्ब ५० करोड खोप बनाउने गर्छ । टाइम म्यागजिनले सिरम इन्स्टिच्युटलाई विश्वकै सबैभन्दा धेरै खोप बनाउने कम्पनीको रुपमा सूचीकृत गरेको जनाएको छ । यस कम्पनीले हरेक वर्ष ३ अर्ब ५० करोड डोज खोप बनाउने गर्छ । जसमध्ये पोलियो, एचपीभी लगायतका खोप छन् । कोरोना महामारीको क्रममा सिरमले बनाएका कोरोनाविरुद्धको भ्याक्सिनबाट लाखौं मानिसको ज्यान बचेको थियो ।

टाइम म्यागजिनको १ सय अति प्रभावशाली कम्पनिको यो चौथो संस्करण हो । यसको पूरा सूची जुन १० को अंकमा सार्वजनिक हुने टाइमले जनाएको छ । यससँगै टाइम म्यागजिनले हरेक वर्ष १०० जना प्रभावशाली व्यक्ति तथा युवाहरुको पनि सूची सार्वजनिक गर्दै आएको छ । १ सय वटा प्रभावशाली कम्पनीहरुको सूचीबारे टाइमका प्रधानसम्पादक साम ज्याकोब्सले लेखेका छन्- ‘टाइम १०० कम्पनीहरु व्यावसायिक सफलताको सूचकांकभन्दा कैयौं गुणा धेरै छन् । तर २०२४ मा व्यावसायिक प्रभाव कस्तो देखियो भन्ने एउटा बहस हो ।’

टाइम म्यागजिन टोलीले विभिन्न क्षेत्रहरुबाट नामहरु मागेर कन्ट्रिब्युटर्स, संवाददाताहरु साथै विशेषज्ञहरुको विश्वव्यापी सञ्जालमाझ सर्वेषण गरेर यो सूची तयार पारेको पनि जनाएको छ । यसका लागि प्रभाव, आविष्कार, महत्वाकांक्षा र सफलता जस्ता विषयलाई प्रमुख मापदण्ड बनाइएको पनि प्रधानसम्पादक सामले बताएका छन् ।


क्लिकमान्डु