विश्वप्रसिद्ध सिकोको नेपालमा पहिलो फ्ल्यागसीप स्टोर



काठमाडौं । प्रसिद्ध जापानी वाच ब्राण्ड सिको ले नेपालमा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर संचालनमा ल्याएको छ । काठमाडौँको अपस्केल मार्केटको रूपमा स्थापित दरबारमार्गको वान दरबार मलमा देशकै पहिलो सिको बुटिक सञ्चालनमा ल्याएको हो ।

तीब्र विकासको क्रममा रहेका बजारहरुमा आफ्नो बलियो उपस्थिति जनाउने रणनीति अनुरूप यो फ्ल्यागसिप स्टोर सिकोले सञ्चालनमा ल्याएको बताइएको छ । यससँगै सिकोले नेपालको रिटेल मार्केटमा आफूलाई सशक्त रुपमा अगाडि बढाउन गरेको प्रतिबद्धतालाई थप बल दिएको छ ।

गुणस्तरीय, टिकाउका साथै यसको डिजाइनको कलात्मकता र समयको सटिकताका कारण सिको ब्रान्ड विश्वप्रसिद्ध छ । विभिन्न माध्यमबाट दशकौं पहिलेदेखि नेपाली उपभोक्तामाझ लोकप्रिय सिकोको नेपालमा बुटिक नै सञ्चालनमा आएको भने पहिलो पटक हो ।

संचारकर्मी भूषण दाहाल तथा उद्योगी राज बहादुर शाहले संयुक्त रुपमा सिको बुटिकको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहका लागि सिकोका प्रतिनिधि पनि आएका छन् । उद्घाटन कार्यक्रममा मोडल तथा कलाकार सोनिया विष्ट तथा रोनिशा श्रेष्ठले सिकोका विभिन्न मोडलका घडीहरू प्रदर्शन गरेका छन् ।

उद्घाटन समारोहका लागि एक विशेष सन्देश पठाउँदै प्रेसिडेन्ट निलान्द्री मजुमदार भन्छन्, “हामी काठमाडौँमा हाम्रो पहिलो स्टोर खोल्न पाउँदा रोमाञ्चित छौं, संस्कृति, सम्पदा र इतिहासमा धनी सहर काठमाडौंमा हाम्रो उपस्थितिले हामीलाई उत्साही बनाएको छ । हामी विश्वस्त छौं कि हाम्रो नयाँ स्टोरले नेपालका घडी प्रेमीहरू र संकलकहरुलाई अवस्य आकर्षित गर्नेछ ।”

नेपाली उपभोक्ताहरूले सिकोको पछिल्लो संग्रह अनुभव गर्ने विशेष अवसर यस स्टोरमा पाउने बताइएको छ । यस स्टोरमा आम उपभोक्ताले घडी किन्दा अनुपम अनुभव प्रदान गर्ने बाचा गरिएको छ । साथै व्यक्ति अनुसारका विविध रुचि र प्राथमिकताहरूका लागि उपयुक्त सिको घडीहरूको विभिन्न २०० भन्दा बढी मोडलहरु एकै स्थानमा उपलब्ध गराएको छ ।

कस्तो हो सिको ब्रान्ड ?

सिको एक जापानी घडी निर्माता हो । जसले १८८१ देखि उत्कृष्ट घडीहरू बनाउँदै आएको छ । किन्तारो हत्तोरीले १४० वर्षअघि सुरु गरेको यो यात्रा अनवरत अगाडि बढिरहेको छ । समयको परिवर्तनसँगै यसको नवप्रवर्तन र थुप्रै ऐतिहासिक सुरुवातहरूको लागि विश्वव्यापी रूपमा प्रसिद्ध छ ।

१९१३ मा जापानको पहिलो घडीको उत्पादनदेखि १९६९ मा विश्वको पहिलो क्वार्ट्ज घडीको निर्माण र २०१२ मा विश्वको पहिलो जीपीएस सोलार घडीको सिर्जनासम्मका रेकर्ड सिकोले गर्दै आएको छ ।

भारतीय प्रिमियम वाच सेग्मेन्टमा सबैभन्दा छिटो सफलता हासिल गरेको यो ब्रान्डले नेपाली बजारमा समेत आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ । सिकोका अलावा, आफ्नो विलाशी ब्रान्ड ग्राण्ड सिको, फेसन ब्रान्ड अल्बा र प्रिमियम सिको क्ल्क्स पनि विश्व बजारमा विक्री हुँदै आएको छ ।


क्लिकमान्डु