विपक्षी दलको बैठक बूढानीलकण्ठमा : के पाक्दैछ देउवा निवासमा ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलहरुको बैठक बसिरहेको छ ।

बैठक देउवाले समसामयिक राजनीतिका साथै मधेश प्रदेशको सरकारबारे छलफल गर्न विपक्षी दलको बैठक बोलाएका थिए । तर, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भए पछि धेरै अनुमान हुन थालेका छन् ।

बूढानीलकण्ठ बैठकमा माधव नेपालका साथै एकीकृत समाजवादीका अर्का नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी छन् ।

मधेश प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले वैशाख ३० गते जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसयता मुख्यमन्त्री यादवले विश्वासको मत लिएका छैनन् ।

संघको सरकारबाट जसपा नेपाल बाहिरिए पछिको विकसित घटनाक्रममा मधेशमा पनि जसपा नेपालको सरकार अल्पमतमा परेको छ ।

मधेशमा एमालेका २३ प्रदेश सांसद छन् भने कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।

जम्मा १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।

त्यसको लागि जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवलाई आफनो १६ सहित कांग्रेसका २२, लोकतान्त्रिक समाजवादीका ९ र एकीकृत समाजवादीका ७ जना प्रदेश सांसद्को समर्थन आवश्यक हुन्छ । एकीकृत समाजवादीका ७ जना प्रदेश सांसद्को समर्थन बिना मुख्यमन्त्री सरोजकुमार यादवको बहुमत पुग्दैन ।

त्यसैले बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ ।


क्लिकमान्डु