सहकारीबाट ठगेर खानेहरुले सहकारीलाई बद्नाम बनाएः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरुका कारण केही ठूला सहकारी संकटग्रस्त भएको बताएका छन् ।

सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरुले ठूला केही सहकारी बद्नाम र संकटग्रस्त हुन गएको ओलीको तर्क थियो ।

उनीले सहकारी संस्थाहरु बदनाम र संकटग्रस्त नभएको जिकिर समेत गरे । पार्टी निकट जन वर्गीय संगठन संयन्त्रद्वारा काठमाडौंमा शुरु भएको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले सहकारीहरु नियममा बसेर अघि बढने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत बताए । उनले सहकारीको माध्यामबाट भएपनि महिलाहरु उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए ।

महिला दिदीबहिनीहरुले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले घर, परिवार र समाज केही पनि महिलाहरुले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्तिको रुपमा विकास गर्नेगरी परिचालित हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । मुलुकलाई समृद्ध बनाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुको विकल्प नभएको उहाँले बताए ।


क्लिकमान्डु