बजेट भाषणको अघिल्लो दिन सिलिङ बढाएको गभर्नरको खुलासा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको खुलासा गरेका छन् । बजेटको स्रोत अनुमान समितिको सदस्य रहेको गभर्नर अधिकारीले कानुनअनुसार नै माघमा गरिको अनुमान पुनरावलोकन गरेको स्विकार गरे ।

बुधबार अर्थ मन्त्रालयमा पत्रकारहरुको राखेको जिज्ञाशाको जवाफ दिँदै उनले भने, ‘बजेट बनाउने क्रममा स्रोत अनुमान समितिको सिफारिसलाई बेवास्ता पो गरियो कि भन्ने जस्ता प्रश्न उठ्यो । म स्रोत अनुमान समितिको सदस्य भएका नाताले नै यसको जवाफ दिनुपर्छ कि माघको अनुमानमा केही परिमार्जन भएका छन् । तर, सबै परिमार्जन कानुनअनुसार नै गरिएको हो ।’

विशेष गरी दातृ निकायको प्रतिबद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले पनि यसअघि आँकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको उनको भनाइ छ ।

‘अहिले प्रदेश र स्थानीय तहले ऋण नउठाउने भएकाले संघीय सरकारसँग थप आन्तरिक ऋण उठाउन सक्ने स्पेस रहेछ,’ अधिकारीले भने, ‘कुल गार्हस्थ उत्पादनको अनुपातमा ५.५ प्रतिशत आन्तरिक ऋण मिल्छ । आगामी आर्थिक वर्षको जीडीपी ६३ खर्ब रुपैयाँ हुने प्रक्षेपणका साथ ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।’

डेब्ट टु जीडीपीअनुपातबारे स्पष्ट पार्दै उनले आगामी आवको बजेट भएकाले आगामी आवकै जीडीपीको अनुपातमा आन्तरिक ऋणको लक्ष्य राखिएको उनले बताए ।

समग्रमा बजेट सिलिङअनुसार नै रहेको भन्दै उनले भने, ‘स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानुनी व्यवस्था अनुसार सिलिङ पुनरावलोकन गरिएको हो । र, बजेटको आकार पनि नयाँ सिलिङभित्र नै छ ।’ यसैगरी गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने थियो । तर, चालु आवको बजेटको आकार केही सानो भएकाले आगामी आवका लागि पनि सानो बनाउनुपर्ने सुरुवाती धारणा आएको उनले बताए ।


क्लिकमान्डु