गण्डकीमा खगराज अधिकारीको मुख्यमन्त्री पद अवैधानिक, पाण्डेलाई नियुक्त गर्न सर्वोच्चको परमादेश



काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमा एमालेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डे अदालत गएका थिए ।

३१ जनाको समर्थनमा मुख्यमन्त्री बन्ने प्रावधान भए पनि एमालेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने क्रममा अवैधानिक तरिकाले विश्वासको मत लिएको कांग्रेसले भन्दै आएको छ । अधिकारीले मुख्यमन्त्रीको रुपमा विश्वासको मत लिएको प्रक्रियालाई सर्वोच्चले अवैधानिक ठहर गरेको हो ।

सोही मुद्दामा सोमबार सर्वोच्च अदालतका कुमार रेग्मी र सुनील पोखरेलको इजलासले ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने फैसला सुनाएको हो ।

प्रदेश सरकार गठन भएको ६ वर्षको अवधिमा सातै प्रदेशमा सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने क्रम चलिरहेको छ । कोशी प्रदेशमा पनि एमालेका हिक्मत कार्की मुख्यमन्त्री बनेपछि उक्त प्रक्रियाविरुद्ध कांग्रेसका निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च गएका छन् ।


क्लिकमान्डु