देउवा तयार, गगनका कारण सहकारी ठगीबारेको संसदीय छानबिनमा सहमति जुटेन: एमाले



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिले सहकारी अपचलनसम्बन्धि संसदीय छानबिन समितिको गठन हुन नसकेको बताएका छन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक तथा संसदीय छानविन समिति बनाउन निर्माण गरिएको कार्यदलका सदस्य बर्तौलाले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले सो कार्यादेश निर्माणमा सहमति जुटाउने प्रयास गरे पनि महामन्त्री गगन थापापक्ष त्यसलाई भाँड्ने गरी वार्तामा बस्ने गरेको आरोप लगाए।

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कांग्रेस महामन्त्री पक्षले मुलुकको राजनीतिलाई द्वन्द्वतर्फ लैजाने गरी राजनीतिलाई भड्काउने काम गरिरहेको आरोप लगाए ।

प्रमुख सचेतक बर्तौलाले कांग्रेसका महामन्त्री थापा पक्षको व्यवहार र गतिविधिले सो कार्यदलमा सहमति जुटाउन नसकेको बताए । संसदीय छानबिन समिति बनाएर सहकारी प्रकरणमा दोषी भेटिए गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्नेकुरामा एमाले दृढ रहेको उनले बताए ।

‘दुईवटा कांग्रेस छ । अर्को सभापति कांग्रेस र महामन्त्री कांग्रेस । सभापति पक्षधर कांग्रेसहरु मिलौ कि भन्ने भावबाट अगाडि बढन खोजेको देखिन्छ,’ उनले भने, ‘ तर महामन्त्री कांग्रेसहरु परिस्थिति मिल्छ कि भन्ने चिन्ता व्यक्त गरेर अभिव्यक्तिहरु गलत ढंगबाट दिने, पूर्वाग्रह प्रेरित, तथ्यहीन राजनीतिलाई द्वन्द्वतर्फ लैजानका लागि उद्यत गराउने गरी अस्थिरतातर्फ लैजानका लागि भूमिका खेल्ने गरी त्यस प्रकारको व्यवहार र गतिविधिमा लागिरहेका छन् ।’

महामन्त्री पक्षको बटमलाइन मिल्न नदिने भएको उनको आरोप छ ।

‘कांग्रेस सहमतिका लागि तयार छैन । सहमति बन्न लागेको परिस्थितिलाई बिगार्न कांग्रेस कांग्रेस भित्रैबाट लागेको छ भन्नेकुरा देखिन्छ । र त्यसको निष्कर्षका रुपमा आजसम्म समस्या समाधान नहुनुको एउटै कारण भनेको कांग्रेसको एउटा बटम लाइन हो । त्यो बटमलाईन भनेको मिल्न नदिने बटम लाइन हो’ उनले भने ।

सरकार यतिधेरै लचिलो भएर आउँदा पनि कांग्रेसले किन मानेन भन्ने प्रश्न गम्भीर रहेको उनले बताए ।

‘कांग्रेसको विशेषगरी आन्तरिक अन्तर्विरोध पनि केही हो भन्ने लाग्छ । कांग्रेस एउटा कांग्रेसको रुपमा छैन । एउटा कांग्रेसले संसदीय समितिहरुमा गृहमन्त्रीलाई बोलाएर छलफल चलाउँछ । अर्को कांग्रेसले संसदको बैठकमा गएर वेल घेराउ गरेर मुर्दावादको नारा लगाउँछ’ बर्तौलाले भने ।

प्रमुख सचेतक बर्तौलाले संवैधानिक बाध्यता भएकाले जेठ १५ गते बजेट ल्याउन कांग्रेसले पनि रोक्न नमिल्ने बताए ।

सरकारले १५ गतेपछि बजेट ल्याउन नमिल्ने संवैधानिक बाध्यतालाई नेपाली कांग्रेसले बुझिदिनुपर्ने र जेठ १५ गते नै बजेट ल्याउँदा सहज वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । प्रमुख सचेतक बर्तौलाले संसदको सबैभन्दा ठूलो दल भएकाले नाताले पनि नेपाली काँग्रेसले बजेट ल्याउनका लागि संसदमा अवरोध गर्न नमिल्ने बताए ।


क्लिकमान्डु