धार्मिक अनुष्ठान र नगरपालिकामा महालक्ष्मी विकास बैंकको सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रम सम्पन्न भएका छन् ।

बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाइ वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा २५ सय दर्शनार्थीका लागि पिउने पानी तथा मिठाइ वितरण गरिएको थियो । बैंकले झण्डै डेढ दशकदेखि बुद्ध जयन्तीको दिन श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरुलाई पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले पानी र मिठाइ वितरण गर्दै आएको छ ।

त्यस्तै बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको “नगरप्रमुख शैक्षिक सुधार कोष” लाई १ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाइ छोड्नु नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोषबाट विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । यससँगै बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहूँमा अवस्थित गलेश्वर आश्रमलाई तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शीव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छाउने काम बाँकी रहेकाले बैंकले उक्त सहयोग गरेको जनाएको छ । बैंकको वाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिने बैंकले जनाएको छ । ३० वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले “सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै आएको छ ।


क्लिकमान्डु