पपुवा न्युगिनीमा भीषण पहिरो, २ हजार जना पुरिए



एजेन्सी । पपुवा न्युगिनीमा भीषण पहिरोका कारण केही दिनदेखि २ हजार जना पुरिएको र उनीहरुमध्ये अधिकांशको मृत्यु् भएको हुनसक्ने आशंका गरिएको छ । राष्ट्रिय विपद केन्द्रले जीवीत मानिसहरुको खोजी गर्न कठिन भइरहेको भन्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

देशको उत्तरी पहाडी क्षेत्र एंगामा गत शुक्रबारदेखि पहिरो गएको हो । प्रारम्भिक अवस्थामा १ सय मानिसको मृत्यु भएको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको थियो । तर पछि मृत्यु हुनेको संख्या ६७० थपिएको स्थानीय सरकार साथै अन्तर्राष्ट्रिय संस्थाहरुले उल्लेख गरेका छन् ।

देशको राष्ट्रिय विपद व्यवस्थापन विभागका कार्यवाहक निर्देशक लुसेते लासो मानाले पहिरोमा परी २ हजार मानिसहरु पुरिएको बताएका छन् । साथै यसले ठूला भवन र ठूलो मात्रामा खेती पनि नष्ट भएको उनले बताए । जसकारण देशकै अर्थतन्त्रमा असर पर्नसक्ने चिन्ता व्यक्त गरिएको छ । पहिरोले राजमार्गहरु पूर्ण रुपमा ठप्प भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार पहिरोका कारण यम्बली गाउँमा मात्रै १५० वटा घरहरु भत्किएका छन् । पपुवा न्युगिनीमा झण्डै १ करोड मानिसको बसोबास रहेको छ । जहाँ ठूला पहाडी क्षेत्र र भौगोलिक कठिनाइले गर्दा सडकको पहुँच नहुँदा बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि जान पनि कठिनाइ भएको बताइएको छ ।


क्लिकमान्डु