एमाले सांसद ज्ञानबहादुर तामाङको सहकारीले तिरेन बैंकको ऋण, १० जनाको नाममा सूचना



काठमाडौं । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका एमाले नेता ज्ञानबहादुर तामाङ अध्यक्ष रहेको बेला नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋण नतिरेको पाइएको छ । सहकारीले ऋण चुक्ता नगरेपछि ३५ दिने सूचना निकालेको छ ।

बैंकबाट सहकारीले लिएको कर्जा समयमा नै नतिरेपछि संस्थाका वर्तमान तथा पूर्वसञ्चालकको नाममा ३५ दिने सूचना निकालिएको छ ।

सहकारीको नाममा लिएको ऋण बैंकलाई ३५ दिनमा भुक्तानी नगरेको खण्डमा कर्जा लिने निर्णय गर्ने पूर्वसञ्चालक र वर्तमान सञ्चालकको धितो लिलाम गरेर बैंकले असुल गर्ने जनाएको छ ।

सहकारी बैंकको गोंगबु शाखाबाट सहकारीले लिएको कर्जाको साँवा, ब्याज र हर्जना रकम बुझाएको छैन । सहकारीका सञ्चालकलाई बैंकले पटक पटक कर्जाको साँवा ब्यान र हर्जना समयमा नै भुक्तानी गर्न भन्दै पटक पटक सूचना अनुरोध गर्दा पनि अटेर गरेको जनाएको छ । पटक पटक भन्दा पनि अटेर गरेपछि कर्जा चुक्ता गर्ने बारे ३५ दिने सार्वजनिक सूचना निकालेको बैंकले जनाएको छ ।

‘सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई बुझाउनु पर्ने कर्जाको साँवा, ब्याज, तथा हर्जना समेत बुझाउनुहुन सम्बन्धीत ऋणी संस्था, धितो जमानतकर्ता, जमानीकर्ता र जमानीकर्ताहरुलाई समेत सूचित गरिन्छ’ सूचनामा भनेको छ ‘सो म्याद भित्र बक्यौता भएको सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान नगरेमा ऋण लिंदा यस बैंकलाई लेखाई दिएको धितो लिलाम बिक्री गरी यस बैंकको सम्पूर्ण लेना रकम असुल उपर गरी लिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै सुरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम विक्रिबाट पनि यस बैंकको सम्पूर्ण रकम असुल उपर नभएमा वा कथम कथाचित धितोवाट असुल उपर हुन नसके वा असुल उपर नभएमा ऋणी संस्थाको पदाधिकारीको वा निजहरुको एकाघर संगोल परिवारको नाममा रहेको चलअचल सम्पत्ती तथा अन्य जायजेथा सम्पत्तीबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, सहकारी ऐन, नियमावली तथा प्रचलित कानून बमोजिम असुल उपर गरी लिने तथा ऋणी संस्थाका पदाधिकारीहरु तथा जमानीकर्ताहरुलाई कालो सूचिमा समावेश गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

सहकारीले समयमा नै कर्जा नतिरेको खण्डमा पुर्व सञ्चालक र अहिलेको सञ्चालक सहित १० जनाको जायजेथा लिलाम गरेर असुल उपर गर्ने भएको छ ।

बैंकबाट कर्जा लिने निर्णय गर्नेमा सहकारीका पुर्व अध्यक्ष ज्ञान बहादुर तामाङ, पूर्व सञ्चालक बुद्धि बहादुर तामाङ, पुर्व सञ्चालक हरिशरण पन्त लगायत अहिलेको सञ्चालक समिति रहेको छ ।

पूर्वअध्यक्ष ज्ञानबहादुर तामाङ काठमाडौं जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष, सहकारी बैंकको पूर्व सञ्चालक समेत हुन् । साथै उनी नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्य समेत हुन् । नेशनल नमोबुद्ध सहकारीका मुख्य व्यक्ति तामाङ नै हुन्।

सहकारीले समयमा नै कर्जाको साँवा, ब्याज हर्जना नतिरेको खण्डमा बैंकले पूर्व अध्यक्ष तामाङ, पूर्व सञ्चालक पन्त, पूर्व सञ्चालक बुद्धि तामाङ सहित अहिलेको सञ्चालकको सम्पत्ति लिलामी गर्ने भएको छ । उनीहरु सबै ऋणको जमानीकर्ता हुन् ।

काठमाडौं महानगरपालिका–२५ सामाखुसीमा रहेको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा राज कुमार लामा, उपाध्यक्षमा विमल बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ रहेका छन् । यस्तै सञ्चालकहरुमा बाबुराम लोप्चन, बुद्धि बहादुर तामाङ, पेम्बा शेर्पा रहेका छन् ।

उक्त सहकारीले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) बाट पनि ऋण लिएको पाइएको छ । बागमती प्रोस्कूनबाट लिएको ऋण सहकारीले नतिरेपछि ऋण चुक्ता गर्न १५ दिनमा आउन भन्दै ऋणीलाई सूचना जारी भएको छ ।

तोकिएको समयमा ऋणको साँवा, ब्याज, हर्जन तनिरेको खण्डमा धितो सुरक्षण लेखिदिने व्यक्तिको जायजेथाबाट असुल गर्ने जनाएको छ । तत्कालिन नेशनल गोर्खा सेभिङ एण्ड क्रेडिटको अपरेटिभले व्यवसायका लागि नुवाकोट र सञ्चालकको धादिङमा रहेको घर जग्गा धितो राखी कर्जा लिएको पाइएको छ ।


क्लिकमान्डु