कैलाश सिरोहिया पक्राउ प्रकरणबारे बोलेपछि बिबादमा परेका मह जोडीले अष्ट्रेलियाबाटै मागे माफी (भिडियो)



काठमाडौं । वरिष्ठ कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाबारे दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ परेपछि उनको बचाउमा कान्तिपुर टीभीमा कुराकानी गरेको भिडियो सार्वजनिक भएपछि उनीहरुको चर्को आलोचना भएको थियो ।

कार्यक्रमका लागि हाल अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडियो सन्देश जारी गर्दै दर्शक, शुभेक्षुकसँग माफी मागेका हुन् ।

श्रेष्ठ र आचार्यले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै उनको पक्राउलाई प्रेस स्वतन्त्रतासँग जोडेका थिए । तर सामाजिक सञ्जाल प्रयोगकर्ता कतिपयले भने अदालती प्रकृया अनुसार सिरोहिया पक्राउ परेको विषयलाई प्रेस स्तन्त्रासँग जोडेको र अदालतमा विचाराधीन मुद्दामा आरोपीको वचाउ गरेको भन्दै दिग्गज कलाकारहरु श्रेष्ठ र आचार्यमाथि आक्रोश पोखेका थिए ।

मह जोडीले अदालतमा विचारधीन मुद्दाका विषयमा दिएको अभिव्यक्ति दिँदा आफूहरूबाट त्रुटि भएको स्वीकार गरेका छन् ।

अष्ट्रेलियाका कार्यक्रममा विषयमा छलफल भइरहेको समयमा अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको उनीहरूको प्रष्टीकरण छ ।

‘अस्तिनै हामी एउटा क्याफैमा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ,’ मदनकृष्णले भिडियोमा भनेका छन्, ‘एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

दुई जना सँगै बसेर बनाइएको भिडियोमा हरिवंशले अदालतमा विचारधीन मुद्दाका विषयमा आफूहरुले बोल्दा त्रुटि भएकोले सबै कुरा बिर्सिएर माफी दिन आग्रह गरेका छन् ।

‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं’ हरिवंशले भनेका छन् ।


क्लिकमान्डु