विमानमा यात्रुलाई तातो पानी नदिने, सिटबेल्ट नलगाए खाना नदिने



एजेन्सी । सिंगापुर एयरलाइन्सको विमान एयर टर्बुलेन्सबाट दुर्घटनामा परेपछि नयाँ नियम लागू गरेको छ । एयरलायन्सले विमानको एउटा मार्ग परिवर्तन गर्नुका साथै सिट बेल्ट सम्बन्धी नियम सार्वजनिक गरेको हो । मंगलबार सिंगापुर एयरलाइन्सको विमान एयर टर्बुलेन्समा परी एक जनाको मृत्यु भएपछि एयरलाइन्सले यस्तो नियम ल्याएको हो ।

लण्डनबाट २११ यात्रुसहित सिंगापुर जाँदै गरेको उक्त विमान एयर टर्बुलेन्समा परी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । विमानलाई थाइल्यान्डमा डाइभर्ट गरिएको थियो । एक दर्जनभन्दा धेरै यात्रुहरुलाई विमानभित्रका सामान खसेर वा फुटेर चोट लाग्दा अस्पताल लगिएको थियो ।

उक्त दुर्घटनापछि सिंगापुर एयरलाइन्सले यात्रुलाई तातो पानी उपलब्ध नगराउने उल्लेख गरेको छ । साथै सिट बेल्ट साइन अन भएको खण्डमा यात्रुलाई खाना पनि नदिने एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “यात्रुहरु र क्रुको सुरक्षा हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण हो । यसैले हामी हाम्रो प्रक्रियाको समीक्षा जारी राख्नेछौं,” एयरलाइन्सले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

मंगलबार लण्डनबाट सिंगापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३००ईआर विमान म्यानमारको आकासमा पुगेपछि अचानक एयर टर्बुलेन्समा परेको थियो । सोही घटनापछि एयरलाइन्सले घटनाप्रति दुख व्यक्त गर्दै तत्काल नै विज्ञप्ति जारी गरेको थियो ।

लामो यात्राका उडानको क्रममा एयर टर्बुलेन्स सम्बन्धी दुर्घटना सामान्य जस्तै मानिन्छ । र यस्ता दुर्घटनामा यात्रु घाइते हुने वा मृत्यु नै भएका घटना भने विरलै हुने विज्ञहरु बताउँछन् । यद्यपि पछिल्लो सिंगापुर एयरलाइन्सको एयर टर्बुलेन्समा भने बेलायती नागरिक ७३ वर्षीय यात्रुको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताइएको छ । २००९ देखि २०२२ को अवधिमा एयर टर्बुलेन्सका कारण जम्मा १६३ यात्रु घाइते भएका थिए । तीमध्ये १२९ वटामा क्रु सदस्यहरु थिए ।


क्लिकमान्डु