रुसी पैसा युक्रेन पठाउने पश्‍चिमा देशहरुको तयारी



एजेन्सी । रुसी वित्तीय पुँजीबाट संकलन गरी युरोपमा सञ्चय भएको रकम छिट्टै युक्रेनमा वितरण गरिने बताइएको छ । जी ७ अर्थव्यवस्थाका वित्त अधिकारीहरु रुसको विदेशी मुद्रा भण्डारको लगभग २८२ बिलियन अमेरिकी डलरबाट प्राप्त आम्दानीलाई उपयोग गर्नका लागि नयाँ उपायबारे इटालीमा छलफल गरेका छन् ।

२०२२ मा रुसले युक्रेनमाथि हमला गर्न थालेपछि तत्काल नै रुसको विदेशी मुद्रा सञ्चयमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाइदिएका थिए । इटालीका अर्थमन्त्री जियानकर्लो जियोर्जेटीले बैठकपछि उक्त रकम युक्रेन पठाउने प्रक्रियामा प्रगति भएको प्रतिक्रिया दिए । यद्यपि केही कानुनी समस्या कायमै रहेको र तिनलाई समाधान गर्नुपर्ने बताएका छन्।

र यो विषयमा सबै जी ७ देशहरुको एउटै अडान रहेको पनि उनको भनाइ थियो । रुसले युक्रेनको उत्तरी खार्किभ क्षेत्रमा आक्रमण गरेको केही सातामै इटालीमा जी ७ बैठक बसेको हो । रुसको आक्रमण बढिरहँदा पश्चिमा नेताहरुलाई युक्रेनमा सुरक्षा सहयोग बढाउने दबाब बढिरहेको छ।

२ वर्षदेखि रुससँग युद्धमा रहेको युक्रेनलाई अमेरिका र युरोपियन युनियनको व्यापक समर्थन रहँदै आएको छ । पछिल्लो पटक रुसको विदेशी मुद्रा सञ्चयलाई युक्रेनको लाभका लागि पठाउने प्रस्ताव भएको हो । यस अन्तर्गत युक्रेनलाई ५० अर्ब डलरसम्मको ऋण दिनसक्ने प्रावधान छ ।


क्लिकमान्डु