प्रतिस्पर्धाबाट मात्रै जग्गा भाडामा दिनुपर्ने, ‘५ वर्ष अगाडि नै सम्झौता नवीकरण गर्नु मनासिव देखिएन’



काठमाडौं । प्रतिस्पर्धाबाट मात्रै जग्गा भाडामा दिनुपर्ने महालेखा निरीक्षकको प्रतिवदेनले औल्याएको छ । महालेखाले ५ वर्ष अगाडि नै सम्झौता नवीकरण गर्नु मनासिव नदेखिएको औल्याएको छ ।

महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवदेनले नेपाल ट्रस्टको लिज अवधि थप भएको विषयमा प्रक्रिया पूरा नभएको औल्याएको छ । नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ को उपदफा ३ (ख)मा अवधि तोकी लिजमा दिएको सम्पत्तिको उपभोग गर्ने पक्षले थप पुँजी लगानीसहित विद्यमान संरचनालाई मर्मत सम्भार गरी सञ्चालन गर्न चाहेमा र सोबाट ट्रष्टलाई थप आर्थिक लाभ हुने सुनिश्चित भएमा त्यस्तो अवधि समाप्त हुनु अगावै आवश्यकताअनुसार ट्रष्टको सिफारिसमा नेपाल सरकारले लिज अवधि थप गर्न सक्ने व्यवस्था गरेको छ ।

महालेखाको प्रतिवेदनले भनेको छ ‘तत्कालीन राजदरबारको डिपार्टमेन्ट अफ क्राउन प्रोपर्टी र एक निजी कम्पनीबीच २०५२।४।३१ मा काठमाडौंस्थित गोकर्ण राज निकुञ्जको ३ हजार ९७० रोपनी १ आना ३ पैसा ३ दाम जग्गामध्ये २ हजार ७९२ रोपनी ३ पैसा १ दाम जग्गा फरेष्ट रिसोर्ट निर्माण तथा सञ्चालन गर्न ३० वर्षका लागि अमेरिकी डलर पचास लाख लिने गरी लिज सम्झौता भएको देखिन्छ ।’

सञ्चालक समितिको २०७६।७।२६ को निर्णयबाट मौजुदा लिज अवधि समाप्त हुने अवधि सन् २०२५ को अगस्ट १५, (२०८२।४।३१) देखि परिमार्जित लिज भाडा दर लागु हुने गरी नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ को उपदफा (३)ख अनुसार २५ वर्ष लिज अवधि थप गर्न नेपाल सरकार (मन्त्रिपरिषद)मा सिफारिस गरेअनुसार मन्त्रिपरिषदबाट २०७६ । ८ । २३ मा प्रस्ताव पारित भएको थियो । यसलाई ट्रस्टको सञ्चालक समितिको २०७६ । ९ । २९ को निर्णयअनुसार साबिकमा लिजमा लिएकै कम्पनीसँग लिजसम्बन्धी सम्झौता गरेको थियो ।

वर्तमान लिज अवधि समाप्त हुनुभन्दा ५ वर्ष पहिले नै साबिकको लिज अवधि थप भएको, फेयर मार्केट भ्यालु मूल्याङ्कन गर्न स्वतन्त्र मूल्याङ्कनकर्ता छनोट गर्ने सूचना पत्रिकामा प्रकाशन नगरी साबिककै सम्झौताकर्तासँग म्याद थप गरेको देखिन्छ । ट्रष्टको सम्पत्ति लिजमा दिँदा प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गर्नुपर्दछ ।


क्लिकमान्डु