‘सहकारी ठगीमा राप्रपा सांसद पक्राउ पर्दा गृहमन्त्री लामिछानेमाथि छानबिन किन भएन ?’



काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने बताएका छन् । सहकारीबाट पैसा झिकेर रेष्टुरेन्टमा लगानी गरेको घटनामा राप्रपा सांसद गीता बस्नेतको प्रसंग उल्लेख गर्दै उस्तै प्रकरणमा गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने उनको तर्क थियो ।

‘सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ गरिन्छ । कारबाही गरिन्छ । तर गृहमन्त्रीलाई किन पक्राउ गरी कारबाही नगर्ने ?’ सांसद शाहीले भने । यस क्रममा नयाँ दलका नेताहरुको विभिन्न घोटालामा नाम जोडिएको भन्दै नयाँ दलका नेताहरुले पनि नाक देखाउन नसक्ने अवस्था उत्पन्न भएको उनको भनाइ थियो ।

सांसद शाहीले भनेका छन्, ‘अब नयाँ दलले पनि नाक देखाउने ठाउँ रहेन । छानबिन समिति गठन गर्न गृहमन्त्री किन डराउनुभयो ? गृहमन्त्रीज्युले सहकारी ठगी छानबिनका लागि सहज बनाइदिनुपर्‍यो ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै आइतबार पनि संसद्‍मा प्रदर्शन गरेको छ ।


क्लिकमान्डु