४० लाखभन्दा बढी कमाउने व्यक्तिलाई ३९ प्रतिशतसम्म कर लगाउने तयारी



काठमाडौं । जागिर खानेहरुसँग ३९ प्रतिशतसम्म आयकर लिने गरेको सरकारले आगामी आर्थिक वर्षदेखि विभिन्न लगानी गर्दै वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउने प्राकृतिक व्यक्तिसँगसमेत ३९ प्रतिशत कर लिने तयारी गरेको छ ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार नियमित रुपमा सेयर र घर जग्गा कारोबार, मुद्दती निक्षेप लगायतबाट वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई अनिवार्य रुपमा आय विवरण बुझाउन लगाउँदै करको दायरामा ल्याउने तयारी गरिएको हो।

हाल कम्पनीमार्फत सेयर बजार घरजग्गा लगायतका विभिन्न क्षेत्रमा लगानी गर्नेहरुले २५ प्रतिशत संस्थागत आयकर तिर्दै आएका छन् । सेयर कारोबारका बखत तिरिने करलाई अग्रिम करको रुपमा गणना गर्ने गरिन्छ । प्राकृतिक व्यक्तिका हकमा भने अग्रिम करलाई नै अन्तिम मानिँदै आएको छ ।

पूर्वमन्त्री विद्याधर मल्लिक नेतृत्वमा गठन भएको कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले घरजग्गा, सेयर र विभिन्‍न सम्पत्तिको खरिद बिक्री एवं सम्पत्ति निसर्गबाट वार्षिक ४० लाख रुपैयाँभन्दा बढी कमाएको अवस्थामा त्यस्तो आम्दानीलाई व्यावसायिक आय मानी कर लगाउनु पर्ने सुझाव दिएको छ ।

‘प्राकृतिक व्‍यक्‍तिले वार्षिक ४० लाखभन्दा बढीको आम्दानी गर्दा व्यवसायीक आम्दानी मान्नु पर्ने सुझाव आएको छ,’ स्रोतले भन्यो, ‘यसमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । कस्तो व्यवस्था गर्ने भन्ने ठ्याक्कै टुंगो लागेको भने छैन ।’

हाल आयकर ऐनको दफा ९७ को उपदफा २ मा प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेस गर्नु पर्ने व्यवस्था छ।

तर, आयकर ऐनको अनुसूचीमा प्राकृतिक व्यक्तिले घर जग्गा, सेयरबजार, मुद्दती निक्षेपबाट गरेको आम्दानीलाई गैरव्यवसायिक सम्पत्ति मान्दै करको दर तोकिएकाले सेयर बजार र घर जग्गाबाट करोडौं कमाउनेले कर कार्यालयमा आय विवरण बुझाए पनि अनुसूचीमा तोकिए अनुसार मात्रै कर तिर्ने गर्छन् ।

त्यसैले प्राकृतिक व्यक्तिले गर्ने ४० लाखभन्दा बढीको आम्दानीलाई व्यवसायिक आम्दानी मान्दै आयकरको स्ल्याब अनुसार ३९ प्रतिशतसम्म कर लिन लगाउने सरकारको तयारी छ ।

‘लक्ष्यअनुसार राजस्व संकलन नभएर सरकार दबाबमा छ । वार्षिक ४० लाख रुपैयाँसम्म आर्जन गर्दा गैरव्यवसायिक आम्दानी मान्ने र त्यो भन्दा बढी आम्दानी भएको अवस्थामा व्यवसायिक आम्दानी मान्ने विषयमा छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘बढी आम्दानी गर्नेहरुले कम्पनी दर्ता गर्दै व्यवसायिक कारोबार गर्नु भयो भने सबै खर्च रेकर्ड गर्न पाउनु हुन्छ । ४० लाख भन्दा बढी आम्दानी गर्ने प्राकृतिक व्यक्तिलाई समेत विवरण बुझाउँदै नोक्सानी र खर्च समायोजन गर्न दिने व्यवस्था गर्न लागिएको हो ।’

हाल सेयरबजार कारोबारबाट १ वर्षभित्रमा करोडौं रुपैयाँ कमाउने व्यक्तिले ७.५ प्रतिशत र १ वर्ष भन्दा बढी स्वामित्व भएको सेयरबाट करोडौं कमाउँदा पनि ५ प्रतिशत मात्रै कर तिर्ने गर्छन् ।

५ वर्षभन्दा कम अवधि स्वामित्व रहेको जग्गा बिक्रीबाट हुने लाभमा ७.५ प्रतिशत र ५ वर्षभन्दा बढी अवधि स्वामित्व भएको जग्गा बिक्रीबाट हुने नाफामा ५ प्रतिशत कर तिर्नु पर्छ ।

जबकी नेपालमा वस्तु तथा सेवा उत्पादन गरेर निर्यात गर्ने उद्यमीले आर्जन गरेको नाफामा १५ प्रतिशत आयकर तिर्नुपर्छ । उत्पादनमूलक उद्योगले नाफाको २० प्रतिशत आयकर तिर्नुपर्छ । ट्रेडिङ व्यवसायमा संलग्नले २५ प्रतिशत आयकर तिर्नुपर्ने कानुनी व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले खुद नाफामा ३० प्रतिशत कर तिर्छन् ।

कुनै संस्थामा जागिर खाने व्यक्तिले तलबका आधारमा १ देखि ३६ प्रतिशतसम्म कर तिर्दै आएका छन् । ६ लाखसम्मको आम्दानीमा १ प्रतिशत, ६ देखि ८ लाखसम्मको आम्दानीमा १० प्रतिशत, ८ लाखभन्दा माथि ११ लाखसम्मको आम्दानीमा २० प्रतिशत, ११ लाखभन्दा माथि २० लाखसम्मको आम्दानीमा ३० प्रतिशत र २० लाखभन्दा माथि ५० लाखसम्मको आम्दानीमा ३६ प्रतिशत कर तिर्नुपर्छ ।

चालु आर्थिक वर्षको साउनदेखि वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्नेसँग ३९ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

कुनै व्यक्ति वा संस्थालाई निश्चित समय सेवा दिँदा प्राप्त हुने रकममा १५ प्रतिशत अग्रिम कर कट्टी गर्ने गरिन्छ ।

कुनै जागिरेले महिनामा साढे ४ लाख रुपैयाँ कमाउँदा ३९ प्रतिशतसम्म कर तिर्ने तर सेयरबजार घरजग्गा जस्ता क्षेत्रमा लगानी गरि करोडौं कमाउने व्यक्तिले ५ प्रतिशत कर तिर्दा हुने व्यवस्था उपयुक्त नभएको भन्दै त्यसमा संशोधन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत सुझाव दिएको थियो ।


क्लिकमान्डु