१० महिनामा दमक नगरपालिकाको राजस्व संकलन अघिल्लो वर्षको भन्दा साढे २ करोड बढी



झापा । दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १४ करोड २४ लाख २० हजार एक सय ३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।

नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५१ लाख ६३ हजार ९ सय ७३ रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षको १० महिनामा दमक नगरपालिकाले ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व संकलन गरेको थियो ।

नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आर्थिक वर्षमा २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिए । तर लक्ष्य पूरा गर्न कठिन रहेको उनले बताए । “चालु आवको दुई महिनामा राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ,” उनले भने ।

दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ । नगरपालिकाले हालसम्म सम्पत्ति करवापत २ करोड ९ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरवापत १ करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए ।

नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर १ करोड ६४ लाख, सम्पत्ति कर १ करोड ५५ लाख, नक्सापास दस्तुर १ करोड ६० लाख, बहाल करवापत १ करोड १८ लाख रुपैयाँभन्दा बढी संकलन गरेको बताइएको छ ।


क्लिकमान्डु