कैलाश सिरोहियाको पक्राउबारे कसले के भने ?
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा विभिन्न व्यक्ति र संगठनहरुले प्रतिक्रिया दिएका छन् ।
विशेषगरी राजनीतिकर्मी तथा पत्रकारहरुले सिरोहियाको गिरफ्तारीप्रति आपत्ति प्रकट गर्दै यस्तो कदमको विरोध गरेका छन् । वरिष्ठ पत्रकार युवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेको भन्दै उनी पदमा बस्न लायक नरहेको बताएका छन् ।
गृहमन्त्रीको यस कदममा बदलाको भाव देखिएको उनको भनाइ छ । साथै उनले पदमा रहँदा सत्ताको दुरुपयोग गर्ने खतरा बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
यस्तै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्ञानेन्द्र शाहको पथमा लागेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘२०५८ जेठमा दरबार हत्याकाण्ड बारे मेरो लेख छापेवापत तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरुलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमान्डर प्रचन्ड लगायत हामीले त्यसको विरोध गरेका थियौं । आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउँमा हुँदा उनले नै ज्ञानेन्द्र पथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु ।’
यस्तै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सिरोहियामाथि प्रतिशोध साँधिएको भन्दै आपत्ति जनाएका छन् । सहकारी ठगीको आरोपमा छानविन हुन नदिने तर सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको मिडियाका अध्यक्षमाथि प्रतिशोध साँधिनु स्विकार्य नभएको उनको भनाइ छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नागरिकता सम्बन्धी कसुरको अनुसन्धानका लागि प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । जिल्ला अदालत धनुषाले जेठ ८ गते सिरोहियालाई पक्राउका लागि अनुमति दिएपछि प्रहरीको टोली कान्तिपुरको कार्यालयमै आएर सिरोहियालाई पक्राउ गरेको हो ।
मंगलबार साँझ सिरोहिया पक्राउ पर्ने क्रममा कान्तिपुरको कार्यालयमा ठूलो भीड नै लागेको थियो । कान्तिपुरकर्मीसहित पत्रकारहरुले पक्राउको विरोध गरिरहेका थिए । यस क्रममा पत्रकार महासंघका अध्यक्ष, महासचिवसहित मिडिया सम्बन्धी संगठन र वरिष्ठ पत्रकारहरु पनि उपस्थित थिए ।
सिरोहियाले पक्राउ पर्नुअघि पत्रकार सम्मेलन गरी आफूमाथि प्रतिशोध राखिएको भन्दै आपत्ति जनाएका थिए । यस्तै
मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल लगायत अन्य पत्रकार र राजनीतिकर्मीहरुले पनि यस घटनाप्रति विरोध जनाएका छन् । त्यसो त मंगलबार दिउँसो सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि नै नेपाली कांग्रेसका सांसदहरुको टोली सिरोहियालाई भेट्न कान्तिपुरको कार्यालयमा पुगेका थिए ।
यद्यपि सामाजिक सञ्जालमा कतिपय व्यक्ति र समूहले भने सिरोहियाको पक्राउलाई उचित भन्दै गृहमन्त्री रवि लामिछानेको प्रसंशा समेत गरेका छन् ।