१० महिनाको वैदेशिक व्यापार: आयात निर्यात दुवै घट्दो, ११ खर्ब ७७ अर्ब व्यापार घाटा



काठमाडौं । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक व्यापार घट्दो अवस्थामा पुगेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको साउनदेखि बैशाखसम्मको अवधिमा अघिल्लो वर्षको १० महिनाको तुलनामा वैदेशिक व्यापारको समग्र सूचक घट्दो अवस्था पुगेको छ ।

अघिल्लो वर्षको दश महिनाको तुलनामा आयात, निर्यात, व्यापार घाटा, कूल वैदेशिक व्यापारको अवस्था घट्दो अवस्थामा पुगेको हो ।

चालु आर्थिक वर्षको दश महिनाको अवधिमा कूल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा २.५० प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको छ ।

गत वर्षको १० महिनाको अवधिमा भने १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । चालु आर्थिक वर्षको समिक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयातमा २.३९ प्रतिशतले गिरावट आएको छ ।

यो वर्ष १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँबराबरको विभिन्न मुलुकबाट नेपालमा वस्तु आयात भएको छ । अघिल्लो वर्ष यहि अवधिमा भने १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँबराबरको विभिन्न सामान आयात भएको थियो ।

आयात दरजस्तै निर्यात दर पनि यो वर्ष खुम्चिएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३.६१ प्रतिशतले निर्यात दर खस्किएको छ । यो वर्ष १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँबराबरको नेपालको विभिन्न वस्तु भारतसहित तेश्रो मुलुकमा निर्यात भएको छ ।

अघिल्लो वर्ष यहि अवधिमा १ खर्ब ३० अर्ब ९ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको थियो । अघिल्लो वर्षको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा २.२६ प्रतिशतले व्यापार घाटामा कमी आएको छ । अर्थात चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

अघिल्लो वर्ष यहि अवधिमा भने १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो ।


क्लिकमान्डु