सरकारले संसद्‌मा बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखायो: कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा सरकारले बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखाएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार प्रतिनिधिसभामा अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको शैलीलाई तानाशाही प्रबृत्ति भएको ठहर गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार संसदीय मूल्य मान्यताको खिलाफमा गएको बताए । संसद् विपक्षको हुने भए पनि सभामुखले आज विपक्षीलाई बोल्न नदिएको उनले गुनासो गरे ।

‘नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ । आज सभामुखले विपक्षीलाई बोल्न दिनुभएन । बहुमतको सत्ताक पक्षको दम्भ देखियो,’ उनले भने, ‘ सत्तापक्ष असहिष्णु भयो संसदीय मूल्यमान्यताको खिलाफमा उभियो । हामी सरकारलाई लोकतन्त्रका मुल्यमान्यता विपरीत नजान चेतावनी दिन्छौं ।’


क्लिकमान्डु