कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताएका छन् ।

सोमबार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो चेतावनी दिए । उनले कांग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताए ।

उनले विगतमा आफूले कांग्रेसलाई पटक पटक साथ दिएको तर कांग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताए । उनले संविधानअनुसार विश्वासको मत लिन नदिएर कांग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रश्तुत गरेको जिकिर गरे ।

प्रधानमन्त्रीले यसो भने

म अवरोधमा रहेका मान्यज्युहरुलाई खासगरी नेपाली कांग्रेसका सबै मान्य सदस्यहरुलाई भन्न चाहन्छु, तपाईहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रश्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दुःख प्रकट गर्न चाहन्छु । तपाईंहरुले नेपाली काँग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रुपमा ।


क्लिकमान्डु