सी-पुटिन वार्ता: बहुध्रुवीयताको सुदृढीकरणतर्फको कदम, अमेरिकालाई चुनौती



गत साता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण गरी त्यहाँका राष्ट्रपति सी चिनपिङसँग वार्ता गरेपछि दुवै पक्षले निकालेको संयुक्त वक्तव्यमा बहुध्रुवीय विश्व व्यवस्थालाई सुदृढीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

पाँचौंपटक राष्ट्रपति निर्वाचित भएलगत्तैको पहिलो विदेश भ्रमणका लागि चीन गएका पुटिनलाई सीले न्यानो स्वागत गरेका थिए । नयाँ कार्यकालको शपथ लिएलगत्तै एकअर्काको देशको भ्रमण गर्ने परम्परा पुटिन र सीले चलाएका छन् । सन् २०२३ मा तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेलगत्तै सीले रुसको भ्रमण गरेका थिए । विगत दुई दशकमा सी र पुटिनबीच ४० पटकभन्दा बढी भेटघाट भइसकेको छ ।

यस भ्रमणमा दुवै नेताले आफ्नो शारीरिक हाउभाउमार्फत पनि घनिष्ठ सम्बन्धको सन्देश दिएका छन् । बिदाइको समयमा सीले अभूतपूर्व रूपमा पुटिनलाई अँगालोमा बेरेका थिए ।

हुन पनि यी दुई नेताबीच सुमधुर सम्बन्ध छ र उनीहरूको राजनीतिक सोच पनि एकै किसिमको छ । दुवैजनाले पारस्परिक सम्मान, समानता तथा सहकार्यमा आधारित बहुध्रुवीय विश्वको पक्षमा पैरवी गर्दै आएका छन् र प्रगतिशील मानववादको सिद्धान्तलाई अंगीकार गरेका छन् । 

बेइजिङमा आयोजित स्वागत समारोहमा पुटिनले संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्का साथै अन्तर्राष्ट्रिय कानूनलाई केन्द्रीय भूमिका दिने न्यायपूर्ण र लोकतान्त्रिक बहुध्रुवीय विश्व व्यवस्था निर्माणका लागि रुस र चीनले प्रयत्न गरिरहेको बताए । यस व्यवस्थामा विश्वका सबै मुलुकहरूको स्वार्थलाई सन्तुलनमा राख्न प्रयास गरिने उनको भनाइ थियो ।

बहुध्रुवीय विश्वमा समान तथा अविभाज्य सुरक्षालाई जोड दिइएको छ । त्यसको अर्थ हुन्छ, कुनै एक मुलुकको सुरक्षा अर्को मुलुकको सुरक्षालाई जोखिममा पारेर सुनिश्चित गर्न सकिँदैन । दृष्टान्त दिएर भन्नुपर्दा, पश्चिमले युक्रेनको सुरक्षाका लागि भन्दै उसलाई सैन्य गठबन्धन नेटोमा प्रवेश गराउन खोजेर युक्रेनी भूमिमा विभिन्न हतियारहरू तैनाथ गर्न लागेको थियो । त्यस्तो कदमले रुसको सुरक्षालाई जोखिममा पारेको थियो । त्यसैलाई रोक्नका लागि रुसले युक्रेनमाथि आक्रमण गर्नुपरेको थियो ।

त्यस्तै नवउपनिवेशवाद र एकल प्रभुत्ववादको विरोध पनि बहुध्रुवीय विश्वको महत्त्वपूर्ण अंग हो । अमेरिका नेतृत्वको पश्चिमले अन्य मुलुकहरूलाई सार्वभौम राष्ट्रका रूपमा भन्दा पनि आफ्नो राजनीतिक दर्शन अनुशरण गर्न बाध्य दासका रूपमा व्यवहार गर्ने गरेकोमा चीन र रुसले त्यसको विरोध गरिरहेका हुन् ।

आफ्नो कुरा नमान्ने मुलुकहरूका विरुद्ध एकपक्षीय प्रतिबन्ध लगाउने अमेरिकाको कदमलाई चीन र रुसले विरोध गरेका छन् । कुनै मुलुकले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन हुने गरी विश्व शान्तिमा खलल पुग्ने काम गरेको भनी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ठहर गरेमा मात्र प्रतिबन्ध लगाउनुपर्नेमा आफ्नो तजबिज अनुसार मुलुकहरूलाई दण्डित गर्ने अमेरिकाको प्रयासलाई चीन र रुसले विरोध गरेका हुन् । लिबिया, सिरिया, इरान, उत्तर कोरिया, रुस लगायतका मुलुकमा पश्चिमले लगाएको अवैध र अनावश्यक प्रतिबन्ध नै वास्तवमा नियममा आधारित भनिएको एकध्रुवीय विश्व व्यवस्थाको पतनको कारक हो ।

पुटिन र सीले विश्व व्यवस्थालाई बहुध्रुवीयतातर्फ डोहोर्‍याउने प्रयास गरेसँगै द्विपक्षीय सम्बन्धलाई सुदृढीकरण गर्नका लागि अनेकौं कदम चालिरहेका छन् । सीले चीन र रुसको द्विपक्षीय सम्बन्धले पारस्परिक सम्मान, सौहार्द्रता र समान लाभको नमूना प्रस्तुत गरेको बताए । निष्पक्ष तथा न्यायपूर्ण विश्व व्यवस्थामा दुवै मुलुकको प्रतिबद्धता कायम रहेको उनको भनाइ थियो ।

आफूहरूको साझेदारी र राजनीतिक सोचले कसैलाई पनि जोखिममा पार्न नखोजेको पुटिन र सीले जोड दिँदै भने । पश्चिमी नेता र सञ्चारमाध्यमले चीन र रुसको साझेदारी लोकतान्त्रिक विश्वका लागि जोखिम हो भन्ने गलत भाष्य फैलाइरहेकोमा यी दुई देशले त्यसलाई चिर्न खोजेका हुन् । तर आफूहरूलाई पश्चिमले सामान्य शक्ति ठानेर नहेपोस् भन्ने सन्देश दिनका लागि पुटिन र सीले आफूसँगै रहेका सहयोगीहरूलाई न्युक्लियर फूटबल अर्थात् आणविक हतियारको कोडहरू राखिएको कालो ब्रिफकेस बोकेर हिँडाएका थिए । 

युक्रेन र पश्चिम एसियामा भइरहेको युद्ध रोक्नका लागि कूटनीति र संवादलाई माध्यम बनाउनुपर्नेमा पुटिन र सीको जोड छ । पश्चिमले युक्रेन र इजरायललाई वार्तामा ल्याउनुको साटो थप हतियार दिएर युद्ध चर्काउनका लागि प्रयास गरिरहेको सन्दर्भमा सी र पुटिनले दिएको सुझबुझपूर्ण सुझावलाई ग्लोबल साउथले नजिकैबाट नियालिरहेको छ ।

सीले कुनै पनि देशको नाम नलिइकन शीतयुद्धकालीन मानसिकता, एकपक्षीयता, प्रभुत्ववाद, खेमाबन्दी र शक्तिमा आधारित राजनीतिलाई परित्याग गर्नुपर्ने बयान दिए । खासमा उनले अमेरिकातर्फ नै इंगित गरेका हुन् ।

यस महत्त्वपूर्ण भ्रमणमा दुई राजनेताले ऊर्जा, प्रविधि, भौतिक निर्माण, कृषि, रक्षा लगायतका विभिन्न क्षेत्रमा द्विपक्षीय सहमतिहरू गरेका छन् । उनीहरूले द्विपक्षीय व्यापार, लगानी, ऋणप्रवाह सबैमा आआफ्नो राष्ट्रिय मुद्रामार्फत कारोबार बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अमेरिकाको एकल प्रभुत्वको प्रमुख कारकका रूपमा रहेको डलरलाई क्रमशः विस्थापित गर्दै आआफ्नो मुद्रा चलाएर आर्थिक कारोबारलाई लोकतान्त्रिक बनाउने चीन र रुसको प्रयास देखिन्छ ।

दुई देशको सम्पर्कलाई थप अभिवृद्धि गर्नका लागि उत्तरी सागर मार्गलाई विकसित गर्न पनि पुटिन र सीले सहमति जनाएका छन् । जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धिका कारण उत्तरी ध्रुवको हिउँ पग्लिएर जलमार्ग निर्माण भइरहेको सन्दर्भमा त्यो मार्ग भएर गरिने ढुवानी अहिलेको भन्दा छोटो र सस्तो पर्न जान्छ । अझ, चीनको बेल्ट यान्ड रोड इनिशिएटिभ र रुसको युरेसियन इकोनोमिक युनियनको सामञ्जस्यतालाई थप बढाउँदा समग्र युरेसियाली क्षेत्रको आर्थिक वृद्धिमा योगदान पुग्नेछ ।

बहुध्रुवीय विश्व बनाउनका लागि चीन र रुसले गैरपश्चिमी संरचनाहरूलाई थप बलियो बनाउने संकल्प पनि लिएका छन् । शाङ्हाई कोअपरेशन अर्गनाइजेशन, ब्रिक्स प्लस, एसिया-पसिफिक कोअपरेशन फोरम लगायतका समूहलाई थप बलियो बनाएर ग्लोबल साउथका साथै सम्पूर्ण विश्वलाई आर्थिक, सामाजिक, राजनीतिक र भौतिक लाभ दिलाउने महान् परिकल्पना यी दुई मुलुकले गरेका छन्।

एकातिर पुटिन र सीले न्यायपूर्ण तथा समृद्ध विश्वको परिकल्पना गरिरहँदा अर्कातिर अमेरिका नेतृत्वको पश्चिमले विश्वलाई युद्ध, द्वन्द्व र गरीबी बाहेक अरू केही पनि दिन सकेको छैन । गत साता अमेरिका र उसका युरोपेली दासहरूले गाजामा प्यालेस्टाइनीहरूको नरसंहार गर्ने अपराधी इजरायली शासकको मनोबल बढाउने गरी हतियार दिने योजना बनाएका थिए । अनि युक्रेन युद्ध अन्त्य गर्नका लागि कूटनीतिक प्रयास गर्नुको साटो युक्रेनलाई थप हतियार दिएर प्रत्याक्रमण कारवाहीका लागि प्रेरित गरिरहेको छ ।

चीन र रुसलाई अन्य मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्न नदिनका लागि अमेरिकाले विभिन्न प्रयास गरिरहेको छ । पुटिनलाई बेइजिङमा स्वागत गर्नुभन्दा केही दिन पहिले फ्रान्स, सर्बिया र हंगेरी जस्ता युरोपेली मुलुकहरूको भ्रमण गरी चीनका राष्ट्रपति सीले सम्बन्ध बढाउने प्रयास गरेका थिए ।

त्यसैको छेको पारेर अमेरिकाको बाइडन प्रशासनले चीनका विरुद्ध आर्थिक कदमहरू चालेको थियो । अठार अर्ब डलर बराबरको चिनियाँ सामानको निर्यातमा नयाँ कर लगाउने घोषणा गरी बाइडनले चीनलाई झुकाउने प्रयास गरेका छन् । चीनको विद्युतीय गाडीसँग अमेरिकी कम्पनीहरूले प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा बाइडनले ती चिनियाँ गाडीमा अहिले लाग्दै आएको २५ प्रतिशत करलाई चारगुणा बढाएर शतप्रतिशत बनाएका छन् । सी युरोप भ्रमणमा रहँदा यस्तो करवृद्धि गरेर बाइडनले युरोपेलीहरूलाई पनि कठोर सन्देश दिन खोजेको स्पष्ट हुन्छ ।

तर अमेरिकाका यी दुष्प्रयासहरूका बावजूद पश्चिमको प्रभुत्व रहेको विश्व व्यवस्था पतन हुँदै गइरहेको यथार्थलाई ग्लोबल साउथले बुझेको छ । अमेरिका नेतृत्वको नवउपनिवेशवादी पूँजीवादी व्यवस्था तथा त्यसलाई कायम गर्नका लागि गरिने युद्धहरू क्रमशः असान्दर्भिक बन्दै गइरहेका छन् । समानता तथा पारस्परिक सम्मानमा आधारित नयाँ विश्व व्यवस्थाको उदय भइरहेको छ । रुस र चीनबीचको घनिष्ठ सम्बन्धले त्यसको झलक दिइरहेको छ ।

शान्ति र समृद्धि सहितको सुखद भविष्यको परिकल्पना गर्ने नागरिकहरूले रुस र चीनका राजनेताहरूमा आफ्नो भरोसा जताउन सक्ने स्थिति छ । पतनोन्मुख पश्चिमका आपराधिक नेताहरूले संसारको भविष्यलाई बर्बाद गर्नका लागि अनेकौं षड्यन्त्र रच्न सक्ने भए पनि चीन र रुसले न्यायपूर्ण, समतामूलक र समृद्ध विश्वको खाका कोर्न प्रेरणा गरिरहेका छन् ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।