रवि लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा छलफलमा जुटेका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेका छन् ।
सहकारी ठगीबारे आफूमाथि उठेका प्रश्नबारे संसदमा लामिछानेलाई बोल्न दिने निर्णय विपक्षी दलहरुले गरेका हुन् ।
आइतबार बिहान बसेको कांग्रेस, राप्रपासहितको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको कांग्रेस नेता रमेश लेखेकले जानकारी दिए ।
‘विपक्षमा रहेका दलहरुले छानबिन समिति बनाउने कुरालाई सकारात्मक रुपमा लिएका छन् र कार्यसूचीमा प्रवेश गर्ने छ,’ उनले भने, ‘लामिछानेले धेरै दिनदेखि समय माग्नु भएको छ सभामुखले समय दिनु भयो भने हामी उहाँलाई सुन्न तयार छौं ।’
टीओआर नबनि, समिति नबनी संसद बिजनेशमा प्रवेश नगर्ने उनको भनाइ छ । टीओआर नबने पनि रवि लामिछानेलाई बोल्न सभामुखले समय दिए आफूहरुले सुन्ने उनले बताए ।
कांग्रेसले रविमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । रविले यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन् भने बिहीबार उनलाई बोल्न सभामुखले समय दिए पनि कांग्रेसले अवरोध गरेको थियो ।
हिजो दलहरुबीच संसदीय समिति गठन गर्ने विषयमा सहमति भएको थियो । संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल बनेको छ । जसको बैठक अहिले बसिरहेको छ ।